स्व पत्रकार गणेश पौडेलको परिवारलाई आर्थिक सहयोग

हिमाली आवाज ।  कास्कीका क्रियाशील पत्रकार स्व जगन्नाथ पौडेल(गणेश)का परिवारलाई पत्रकार महासंघले राहत स्वरुप आर्थिक सहयोग प्रदान गरेको छ ।

महासंघ कास्की शाखाका अध्यक्ष विमला भण्डारीले पौडेलका जीवनसंगीनी कृष्णमायालाई आज ४५ औँ दिनको पुण्यतिथि पारेर रु ७५ हजार सहयोग हस्तान्तरण गर्नुभएको हो ।

कास्की शाखाबाट रु २० हजार, पत्रकार महासंघ केन्द्रबाट प्राप्त रु ३० हजार र प्रेस काउन्सिलबाट प्राप्त रु २५ हजार एकमुष्ट पौडेलको परिवारलाई हस्तान्तरण गरिएको शाखाका अध्यक्ष भण्डारीले जानकारी दिनुभयो ।

क्रियाशील पत्रकार पौडेललाई  गुमाउनुपर्दा आफूहरु अत्यन्त दुःखित भएको बताउँदै अध्यक्ष भण्डारीले स्व पौडेलको परिवारजनसँग महासंघ सँधै साथमा रहिरने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

पौडेलका बाँकी सपना पूरा गर्न र सदा स्मरणका लागि परिवारले गर्ने हरेक गतिविधिहरुमा महासंघको साथ र सहयोग रहने विश्वास भण्डारीले दिलाउनुभयो । पत्रकार महासंघसँग मिलेर स्व पौडेलको स्मरणमा केही काम गर्ने योजना परिवारको रहेको कृष्णमायाले बताउनुभयो ।

सहयोग हस्तान्तरण कार्यक्रममा पौडेलका परिवारका सदस्य सहित महासंघका उपाध्यक्ष रामप्रसाद तिमिल्सिना, जमुना वर्षा, सहसचिव श्रीराम सिग्देल र कोषाध्यक्ष कृष्ण दवाडी सहभागी हुनुहुन्थ्यो । स्व. पौडेलको गत वैशाख ३० गते कोरोना संक्रमणका कारण उपचारका क्रममा निधन भएको थियो ।

Comments
Loading...