गण्डकी प्रदेश सरकारले कृषिमा दक्ष जनशक्तिका लागि इजरायलसँग सहकार्य गर्ने

हिमाली आवाज ।गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र नेपालका लागि इजरायलका राजदूत हनान गोडेरबीच मंगलबार पोखरामा भेट भएको छ । पोखरास्थित मुख्यमन्त्री कार्यकक्षमा भएको भेटमा मुख्यमन्त्री पोखरेलले कृषिमा दक्ष जनशक्ति उत्पादन गरी व्यावसायिकता बृद्धि गर्न आफूहरु इजरायलसँग सहकार्य गर्न तयार रहेको बताउनुभयो ।

अहिले गण्डकी सरकारले युवा किसानलाई तालिमका लागि इजरायलमा पठाउँदै आएको र आगामी वर्षमा समेत यो कार्यक्रमले निरन्तरता पाउने उहाँले बताउनुभयो । यसको व्यवस्थापन लमजुङस्थित आराभा नेपाल मोर्डन एग्रिकल्चर लिमिटेडले गरिरहेको छ। आराभा नेपाल इजरायलमा गई त्यहाँको कृषि प्रणालीअनुसार लमजुङ दुराडाँडामा खेती गरिरहेका युवाले खोलेको पब्लिक लिमिटेड कम्पनी हो। उक्त कम्पनीका कृष्ण बजगाईंले पहिला नेपालमै तालिम दिएपछिमात्रै किसानलाई इजरायल पठाउने गरिएको बताउनुभयो ।

मुख्यमन्त्री पोखरेलले नेपाल र इजरायलबीच ६० वर्ष लामो कुटनीतिक सम्बन्ध रहेको चर्चा गर्दै तत्कालीन प्रधानमन्त्री विपी कोइरालाको पहलमा उक्त सम्बन्ध स्थापित भएको स्मरण गर्नुभयो । इजरायलबाट दक्ष जनशक्ति नेपालमा ल्याएर सहकारी प्रवद्र्धनका लागि समेत समेत बिपी कोइरालाले पहल गरेको बताउँदै उहाँले २ देशबीच भावनात्मक हिसाबले पनि सम्बन्ध प्रगाढ रहेको उल्लेख गर्नुभयो ।

राजदूत गोडेरले नेपाल र इजरायलबीच अति प्रगाढ सम्बन्ध रहेको बताउँदै अझ धेरै गर्न सकिने सम्भावना रहेको चर्चा गर्नुभयो । उहाँले दुवै देश भूगोलका हिसाबले साना भए पनि भाषा, संस्कृति र परम्परामा धनी रहेको बताउनुभउो । अहिले सातै प्रदेशबाट ५ सयको हाराहारीमा युवा किसानहरु तालिमका लागि इजरायलमा छन् ।

उक्त अवसरमा गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. रघुराज काफ्ले, प्रदेशका निमित्त प्रमुख सचिव रामचन्द्र ढकालले नेपाल इजरायल सम्बन्ध र सहकार्यका बारेमा भनाइ राख्नुभएको थियो ।

 

Comments
Loading...