पर्यटन व्यवसाय पुनरुत्थानका लागि मुख्यमन्त्री नेपाली समक्ष टेवानको ध्यानाकर्षण

हिमाली आवाज । पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान)ले कोरोना प्रभावित पर्यटन व्यवसायको पुनरुत्थानका सम्बन्धमा छ बुँदे माग सहित गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको ध्यानाकर्षण गराएको छ ।

टेवानका तर्फबाट मुख्यमन्त्री पोखरेललाई आज ध्यानाकर्षण पत्र बुझाउँदै अध्यक्ष रेनु थापाले पर्यटकीय गन्तव्य पोखरा र यसलाई केन्द्रविन्दु मानी समग्र गण्डकी प्रदेशमा पर्यटन क्षेत्रमा गरिएको पाँच खर्ब रुपैयाँ भन्दा बढी लगानी कोरोनाका कारण प्रभावित भएको बताउनुभयो ।
बिगत दुई वर्षदेखि कोभिड–१९ को महामारीले पर्यटन व्यवसाय प्रभावित बन्दै करिब शुन्यको आकारमा झरेको टेवानको ध्यानाकर्षण पत्रमा भनिएको छ ।
गण्डकी प्रदेशको पर्यटनमा भएको लगानी र रोजगारलाई बचाउन तीनवटै तहका सरकारबाट विभिन्न राहत कार्यक्रम घोषणा भएपनि सरकारी मापदण्ड लगायतका कारणबाट कार्यन्वयनमा आउन र सहज हुन नसकेको जनाइएको छ । घोषित सुविधा एवम् प्याकेज पनि व्यवसायीले सहज रुपमा पाउन नसकेको र मझौला र साना व्यवसायीलाई यसले झनै अप्ठेरोमा पारेको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

सरकारबाट ल्याइएका व्यवसाय पुनरुत्थान कार्यक्रम तथा सेवा सुविधाको कार्यान्वयन पक्ष सुस्त गतिमा बढ्दा व्यवसायी नै पलायन हुने र निरुत्साहित हुने क्रम बढ्दै गईरहेको भन्दै टेवानले पर्यटन व्यवसायको पुनरुत्थानका लागि छ बुँदे माग अघि सारेको छ ।

पर्यटन व्यवसायमा अग्रपंक्तिमा खटिने व्यवसायी तथा मजदुरलाई अनिवार्य कोरोना विरुद्धको खोपको व्यवस्था गर्न माग गरेको छ । गण्डकी प्रदेश सरकारबाट गतवर्ष ल्याइएको एकअर्ब रुपैयाँको व्यवसाय जीवन रक्षा कोषबाट हाल पाँच प्रतिशत व्यवसायीले पनि ऋण नपाएको अवस्थामा सो कोषको रकमलाई सहुलियतकर्जा स्वरुप यथाशिघ्र सबै व्यवसायीलाई सहज रुपमा प्रदान गर्ने गरि नीतिगत रुपमा पहल गरिदिन र उक्त कोषलाई आगामी आर्थिक वर्षमा बढाएर दुई अर्ब रुपैयाँ पु¥याई कार्यन्वयनमा सहजीकरण गरिदिन माग गरिएको छ । व्यवसायीले प्रयोग गर्दै आएका पर्यटकबाहक सवारी (हरियो नम्बर प्लेट) को वार्षिक सवारी कर तथा नवीकरण शुल्क एवम् बीमा रकम आदिमा छुट प्रदान गर्न माग गरिएको छ ।

प्रदेशमा सञ्चालित अधिकांश पर्यटन व्यवसाय प्रदेश सरकारको मातहतको पर्यटन कार्यालय पोखरामा दर्ता हुने उल्लेख गर्दै ती व्यवसायीले पर्यटन कार्यालय पोखरामा गर्नुपर्ने नवीकरण शुल्क, धरौटी रकम आदिमा छुट दिन टेवानले अनुरोध गरेको छ । महिला पर्यटन व्यवसायीलाई प्रोत्साहन र सशक्तिकरणका लागि महिला पर्यटन व्यवसाय लक्षित कार्यक्रम ल्याउन माग गरिएको छ ।

कोरोनाबाट अतिप्रभावित पर्यटन व्यवसायीले आगामी दुई वर्षसम्म कर्जाको किस्ता (साँवा तथा ब्याज) तिर्न सक्ने अवस्था नरहेको भन्दै टेवानले नेपाल राष्ट्र बैंकले बनाउदै गरेको मौद्रिक नीतिमा कोभिड–१९ बाट अतिप्रभावित पर्यटन उद्योगको हकमा कर्जालाई पुनर्तालिकीकरण गरि ब्याज र सावाँ तिर्ने म्याद दुई वर्ष पछिसम्म सार्ने पहल गरिदिन समेत अनुरोध गरिएको छ ।

Comments
Loading...