गण्डकी प्रदेशमा एक व्यक्ति दुई कोरोना खोप अभियान

हिमाली आवाज । गण्डकी प्रदेश सामाजिक विकास मन्त्री कुमार खड्काले सरकारले एक व्यक्ति दुई खोज अभियान सञ्चालन गर्ने बताउनु भएको छ ।

जिल्ला समन्वय समिति कास्कीद्धारा आयोजित कार्यपालिका पदाधिकारीको क्षमता अभिबृद्धिका लागि अभिमुखिकरण कार्यक्रममा बोल्दै उहाँले संघ सरकारको समन्वयमा खोप खरिद गरि सो अभियान थाल्ने बताउनुभयो ।

जनताको प्रत्यक्ष सेवामा खटिने जनप्रतिनिधिहरुको भूमिका महत्वपूर्ण हुने बताउँदै संघ र स्थानीय बीच प्रदेश सरकारले समन्वयकारी भूमिका निर्वाह गर्दे आएको मन्त्री खड्काको भनाई छ ।

जिल्ला समन्वय समिति कास्कीका प्रमुख बैन बहादुर अधिकारी क्षेत्रीले अभिमुखीकरण कार्यक्रमले विकास निर्माणका कामको अनुगमनलाई अझ प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा प्राध्यापक डा. भरतराज पहारीले गुणस्तरीय स्थानीय पूर्वाधार र अर्थपूर्ण अनुगमन विषयमा सहजीकरण गर्दै मुठीभर मानिसको हितका लागि मात्र गरिने कुनैपनि कामलाई विकास मान्न नसकिने बताउनुभयो ।

कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले विकास र सुसासन विषयमा कार्यपत्र प्रस्तुत गर्दै गुणस्तरीय एवम् दिगो विकास अहिलेको मुख्य आवस्यकता भएकोमा जोड दिनुभयो ।

शुसासन तथा कानून विज्ञ विरेन्द्र पराजुलीले कार्यपालिका सदस्यको काम कर्तव्य र अधिकारबारे जानकारी गराउँदै स्थानीय सरकार सञ्चालन ऐनका आधारमा जनप्रतिनिधिहरुले काम गरेमा सहज हुने विश्वास व्यक्त गर्नुभयो ।

समाजशास्त्रका प्राध्यापक अञ्चला चौधरीले समाजशास्त्रीय दृष्टिकोणमा विकासको अवधारणाबारे चर्चा गर्दै विकास समय सान्दर्भिक हुनुपर्ने धारणा राख्नुभयो ।

कास्की लगायत छिमेकी जिल्लाका कार्यपालिका सदस्यहरुको सहभागिता रहेको कार्यक्रममा समन्वय उपप्रमुख सावित्रा भण्डारी, जिल्ला समन्वय अधिकारी नवराज बराल लगायतले प्रभावकारी अनुगमन र गुणस्तरीय विकास निर्माणको आवश्यकता माथि जोड दिनुभएको थियो ।

Comments
Loading...