फेवातालको ‘सिल्टेसन ड्याम’ बाढीले बगाएपछि परामर्शद्धाता कम्पनीसँग महानगरले सोध्यो स्पस्टीकरण

हिमाली आवाज । फेवाताल संरक्षणका लागि पोखरा महानगरपालिका र गण्डकी प्रदेश सरकारले निर्माण गरेको ‘सिल्टेसन ड्याम’ निर्माणको दुई वर्ष नपुग्दै बाढीले बगाएपछि महानगरले परामर्शदाता कम्पनीसँग स्पस्टीकरण सोधेको छ ।

प्रदेश सरकार र महानगरको रु २८ करोड लागतमा निर्माण गरिएका चार वटा सिल्टेसन ड्याम मध्ये पोखरा–२३ हर्पनखोलाको ड्यामको ३० मिटर खण्ड गत असार २३ गते रातिको बाढीले बगाएको थियो ।

सो आयोजनाको निर्माण गुणस्तरका बारेमा टिकाटिप्पणी भएपछि आयोजनाको डिजाइन गर्ने परामर्शदाता कम्पनीलाई स्पस्टीकरण सोधिएको महानगरले आज विज्ञप्ति जारी गरी जनाएको छ ।

महानगरले क्षतिग्रस्त सो सिल्टेसन ड्यामको गुणस्तर तथा निर्माणको क्रममा तयार गरिएको डिजाइनको विषयमा केन्द्रित भई आएको प्रतिक्रियाप्रति ध्यानाकर्षण भएको समेत उल्लेख गरेको छ ।महानगर प्रवक्ता धनबहादुर नेपालीले हर्पन सिल्टेसन ड्यामका सम्बन्धमा सामाजिक सञ्जाल र सञ्चार माध्यममा आएका विभिन्न टिकाटिप्पणीप्रति महानगरको गम्भीर ध्यानाकर्षण भएको बताउनुभयो ।

उहाँले भन्नुभयो,“ हर्पन ड्यामका विषयमा डिजाइन के, कुन आधारमा गरिएको हो ? र डिजाइनमा भएको त्रुटिको कारणले यस्तो घटना भएको हो वा होइन भनि डिजाइन तयार गर्ने परामर्शदातालाई यस कार्यालयको तर्फबाट स्पष्टीकरण सोधिएको छ ।”

सो ड्याममा गत वर्षातमा भएको क्षति पश्चात गरिएको मर्मत सम्भारको विषयमा समेत प्रश्न उठार्य निर्माण कार्यमा संलग्न निर्माण व्यवसायीलाई पुनः मर्मत सम्भार गर्न पत्राचार गरिएको र यस विषयमा, डिजाइनकर्ता तथा निर्माण व्यवसायीको तर्फबाट जवाफ प्राप्त नभएकाले महानगरपालिकाले ताकेता गरिरहेको प्रवक्ता नेपालीले बताउनुभयो ।

महानगरले यस प्रकरणलाई सार्वजनिक खरिद सम्बन्धी विद्यमान नेपाल कानून बमोजिम निष्कर्षमा पु¥याइने समेत स्पष्ट पारेको छ ।
पर्यटकीय गन्तव्य फेवाताल संरक्षणका लागि विसं २०७६ मा गण्डकी प्रदेश सरकार र पोखरा महानगपालिकाले तालमा मिसिने चार वटा खोलामा सिल्टेसन ड्याम र पोखरी निर्माण गरेका थिए ।

वर्खायाममा ढुँगा,माटो,बालुवा लगायतका गेग्रान नदीहरुबाट सिधै तालमा मिसिँदा ताल पुरिदै गएकाले संरक्षणका लागि सिल्टेसन ड्याम निर्माण गरिएको थियो । जलाधार क्षेत्रबाट आउने गेग्रान तालमा मिसिनबाट रोकेर पानीमात्र तालमा पठाउने गरी सिल्टेसन निर्माणको योजना अघि सारेर कार्यान्वयन गरिएपनि दुई वर्ष नपुग्दै हपर्नको ड्याम बाढीले बगाएको हो ।

फेवाको जलाधार क्षेत्रबाट वर्षेनी एक लाख ४२ हजार मेट्रिक टन ढुँगा,बालुवा लगायतका गेग्रान तालमा मिसिने गरेको बताइन्छ ।

Comments
Loading...