स्थानीय र भीमाद यातायात प्रालिबीच पोखरामा एकीकरण घोषणा

हिमाली आवाज । स्थानीय यातायात प्रालि र भीमाद यातायात प्रालिबीच एकीकरण हुने भएको छ ।दुबै संस्थाले सोमबार पोखरामा एक कार्यक्रम आयोजना गरी एकीकरणको घोषणा गरे ।

स्थानीय यातायात प्रालिका अध्यक्ष केदार पौडेल र भीमाद यातायातका अध्यक्ष महेन्द्र श्रेष्ठले दुबै यातायात कम्पनी एकीकरण गरेर जान आफूहरुले प्रतिवद्धता जनाएको बताउनुभएको थियो ।

स्थानीय यातायातका अध्यक्ष पौडेलले व्यवसायीलाई राहत र देशका अन्य स्थानमा समेत शाखा कार्यालय सञ्चालन गरी यातायात सेवा विस्तारको लक्ष्य सहित एकीकरण गरिएको बताउनुभयो । एकीकृत संस्थाको नाम आवश्यक प्रक्रिया पूरा गरी केही समयमानै तय गरिने उहाँको भनाई छ ।

अध्यक्ष पौडेलले भन्नुभयो,“ दुबै संस्थाको एकीकरणबाट गण्डकी प्रदेश र समग्र नेपालभर सकारात्मक सन्देश प्रवाह हुने विश्वास लिएका छौँ ।”
स्थानीय यातायाले पोखरामा केन्द्रीत रहेर पोखरा–दमौली सहित देशका विभिन्न भागमा यातायात सेवा सञ्चालन गरेको छ । भीमादले पनि भीमाद काठमाडौँ, रामपुर दमौली तथा ग्रामीण क्षेत्रमा जीप सेवा दिँदै आएको भीमादका अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

कार्यक्रममा पोखरा यातायात प्रालिका प्रवन्ध निर्देशक रामचन्द्र लामिछाने, पत्रकार शिवराज बस्ताकोटी लगायतले यातायात कम्पनीबीचको एकीकरणबाट सेवा विस्तार सहित सहज यातायात सेवा प्रवाह हुने विश्वास व्यक्त गर्नुभएको थियो ।

Comments
Loading...