सराङकोटमा धार्मिक पर्यटनको गुरुयोजना,गणेश मन्दिर शिलान्यास

– कृष्ण दवाडी
हिमाली आवाज । पोखरास्थित पर्यटकीय गन्तव्य सराङकोटमा धार्मिक पर्यटन आकर्षित गर्नका लागि शुरु गरिएको शिव मन्दिर, दृश्यावलोकन केन्द्र(भ्यूटावर),गणेश मन्दिर निर्माण लगायत गुरुयोजनाको काम अघि बढेको छ ।

सराङकोट धार्मिक एवं पर्यटन क्षेत्र विकास समितिले गुरुयोजना निर्माण गरी समितिको स्वामित्वमा रहेको ५६ रोपनी जमीनमा धार्मिक र पर्यटकीय पूर्वाधार निर्माणको काम अहिले धमाधम भइरहेको हो ।

सराङकोटमा मानव वस्ती बसेदेखीबाट भैरव मन्दिर लगायतका मठ मन्दिर निर्माण भएको र धार्मिक क्षेत्रका रुपमा विकास भएको बताइन्छ । एक दशक अघि त्यहाँ शिव मन्दिर निर्माणको अवधारणा अघि सारिएको थियो । अहिले शिव मन्दिर निर्माणको काम अन्तिम चरणमा पुगेको समितिका अध्यक्ष प्रेमबहादुर जिसीले बताउनुभयो ।

उहाँका अनुसार रु ४० करोड लगानीमा बृहत सराङकोट धार्मिक पर्यटन गुरुयोजना निर्माणको योजना रहेकामा हालसम्म रु २० करोड लगानी भएको छ । समितिले गुरुयोजना सफल बनाउन र आर्थिक स्रोत जुटाउन चार वर्ष अघि महायज्ञ लगाएर रु छ करोड भन्दा बढी अर्थ सङ्कलन गरेको थियो ।

बृहत सराङकोट धार्मिक पर्यटन गुरुयोजनामा विशाल महादेव मन्दिर, तीन तलाको शिव मन्दिर, हवन कुण्ड, भ्वूटावर, बहुउद्धेश्शीय सभाहल, प्रवेशद्धार लगायतका संरचना निर्माण रहेको छ । समग्र गुरुयोजनाको हालसम्म ७० प्रतिशत काम सकिएको बताइन्छ ।

“पर्यटकीय स्थलका रुपमा विकास भएको सराङकोटलाई यहाँको ऐतिहासिक र धार्मिक महिमासँग जोडेर धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने योजना अनुसार गुरुयोजना निर्माण गरेर काम भइरहेको छ ।”समितिका अध्यक्ष जिसीले भन्नुभयो,“महानगर, प्रदेश, संघ सरकार सहित यहाँका विभिन्न संघ संस्था र सराङकोटवासीको लगानी र प्रयासबाट यसलाई आगामी एक वर्षभित्रमा पूरा गर्दछौँ ।”

समिति अन्तर्गतनै विशाल बुद्ध मन्दिर निर्माण गर्न मुस्ताङका आरडी विष्टले रु १५ करोड उपलव्ध गराउने प्रतिज्ञा गरेपनि जमिन यकिन नहुँदा अहिलेसम्म काम अघि बढ्न नसकेपनि छिट्टै सो कार्यपनि अघि बढाइने समितिले जनाएको छ ।

शिव मन्दिरका लागि रु १० करोड लगानी हुने अनुमान समितिको छ । भ्यू टावर निर्माणका लागि हालसम्म प्रदेश सरकारबाट विभिन्न चरणमा रु ९० लाख लगानी भएको बताइन्छ । भ्यूटावरको संरचनाको काम सकिएको छ ।

बहुउद्धेश्शीय सभाहल निर्माण सकिएको छ । सभाहलमा तीन वटा हल, गुरु तथा अतिथिहरुका लागि पाँच वटा कोठा छन् । यसैगरी सभाहलको माथिल्लो तलालाई सङ्ग्रहालयको रुपमा विकास गर्ने योजना रहेको पूर्वाधार निर्माण समितिका सचिव कृष्ण थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार शिव, पार्वती, लक्ष्मी र कुमारको मूर्ति राख्नका लागि स्व. सूर्यबहादुर केसीले प्रतिज्ञा गर्नु भए अनुसार मूर्ति ल्याउने प्रक्रिया अघि बढेको छ ।सराङकोट विशेषगरी सुर्योदय तथा सुर्याष्त र हिमश्रृङ्खला, पोखरा शहर तथा फेवातालको दृश्यावलोकनका लागि स्वदेशी तथा विदेशी पर्यटकको रोजाईमा परेको छ । सराङकोटमा बन्दाबन्दीअघि दैनिक एक हजार ५०० देखी दुई हजार पर्यटक पुग्ने गरेको बताइन्छ ।
गणेश मन्दिर शिलान्यास

सराङकोट धार्मिक तथा पर्यटकीय गुरुयोजना अन्तर्गत निर्माण गरिने शिव मन्दिरको आज शिलान्यास गरिएको छ ।
गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले मन्दिरको शिलान्यास गर्नुभयो । गणेश मन्दिरका यसअघि लगाइएको महायज्ञमा स्व रामबहादुर थापाले रु ११ लाख संकल्प गर्नुभएको थियो ।

गजुर सहित तीन तलाको मन्दिरको रु २३ लाख ७५ हजार लागत अनुमान गरिएको समितिका अध्यक्ष जिसीले बताउनुभयो । आगामी तीन महिनाभित्रमा मन्दिर निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको बताइन्छ ।

कार्यक्रममा मन्त्री बरालले धार्मिक पर्यटक वृद्धि गर्न र सराङकोटको थप प्रवद्र्धनका लागि गुरुयोजनाले सघाउ पुग्ने बताउनुभयो । उहाँले प्रदेश सरकारले पूर्वाधार निर्माणका लागि सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।

सोही वडाका वडाध्यक्ष रणबहादुर थापाले सडक, खानेपानी पूर्वाधार सहित पर्यटकीय पूर्वाधार निर्माणले वडामा गति लिएको बताउनुभयो ।

Comments
Loading...