जनयुद्धका कमिसारदेखी अर्थमन्त्रीसम्म बरालको राजनीतिक यात्रा

हिमाली आवाज । सादा जीवन उच्च विचार भएका जनयुद्धका योद्धा रामजी प्रसाद बराल जीवन आफ्नो निरन्तर राजनीतिक लगावका कारण आज गण्डकी प्रदेशको अर्थमन्त्री हुनु भएको छ । बराल वि.स. २०२३ साल साउनको २३ गते कास्कीको पोखरा २२ (पुम्दी—भुम्दी) स्थित डाँडाथोक, लुकुन्स्वाँरा सुगम गाउँमा बुबा सशीधर बराल र आमा धनरुपाको कोखबाट जन्मनु भएको हो ।

२०४२ सालमा तत्कालिन मोटो मशालको विद्यार्थी संगठनमा आवद्ध भई पोखरा २२ पुम्दी भुम्दीको शुक्रराज माविको इकाई कमिटीको अध्यक्ष हुदै कम्यूनिष्ट राजनीतिमा सक्रिय हुदै आउने क्रममा करिब साँढे ३ बर्ष अघि गण्डकी प्रदेश सभा सदस्यमा निर्वाचित हुनु भएका बराल समय र परिस्थिती बदलिदा प्रदेशको अर्थमन्त्रालयको जिम्मेवार सम्हाल्न पुग्नु भएको छ ।

सवै खाले विभेदका बिरुद्ध खरो रुपमा बिरोध गर्ने स्वभावका बराल शहिद, उनका परिवार र वेपक्ताहरुको बिषयमा सधै चिन्त्ता लिने गर्नु हुन्छ । स्थानिय महेश्वरी प्रा.वि.बाट अध्यय प्रारम्भ गर्नु भएका बराल, शुक्रराज माविबाट ४३ सालमा प्रबेशीका परिक्षा (एसएलसी) दिएपछि कम्युनिष्ट राजनीतिमा अझै सक्रिय हुन थाल्नु भयोे । समाजमा व्याप्त असमनता अन्याय र विभेदले उहाँलाई राजनीतिमा आउन प्रेरणा मिल्यो ।

उहाँले भन्नुभयो “ आज मेरो यो यात्रासम्म आउनमा सवै पार्टीको देन हो, जसरी पार्टी भनेर मैले घर परिवारलाई समेत कुनै समयमा छाडेर परिवर्तनको लागि जनयुद्धमा होमिए । ” जनयुद्धको प्रकृयामा अमरत्व प्राप्त गर्नुहुने महान शहिदहरु वेपत्ता, घाइते, अपाङगहरुका अधुरा सपनाहरु साकार पार्नको निम्ती प्रतिवद्ध भएको उहाँको भनाई रहेको छ ।

२०४७ सालमा कम्युनिष्ट पार्टीको सदस्यता प्राप्त गर्नु भएका बराल ४८ मा संयुक्त जनमोर्चा नेपाल गाउँ इकाइको अध्यक्ष र ४९ मा जिल्ला सदस्य बन्नु भएको थियो । तत्कालिन अबस्थामा निती र नेतृत्व र जनताको अति आदार गर्ने, डर लाग्ने र निकै अनुशासित हुने संस्कार रहेको पनि उहाँले स्मरण गर्नु भयो ।

२०५१ मा पार्टीको राष्ट्रिय भेलाले जनयुद्ध शुरु गर्ने र जनमुक्ति सेना निर्माण गर्ने निर्णय ले उहाँलाई असाध्यै खुशी बनायो । तारा अधिकारीले अति गोप्य चिठी जनयुद्ध थालनी गर्ने बिषयको पत्र बराललाई थमाएसंगै उक्त चिठी तिनजनाको बीचमा मात्रै खोल्नु भन्ने निर्देशन सुनाउनु भयो सोही अनुरुप पार्टीको निर्देशन बमोजिम नै उहाँले तिनजनाको बीचमा चिठी खोलेर हेर्नु भयो । चिठीमा जनयुद्ध शुरु भएका पोष्टर र जनयुद्धका लागि तयारी हुन गरिएको अनुरोध उल्लेख थियो । सो चिठीबाट बराल असाध्यै खुशी हुनु भयो । उहाँले भन्नु भयो“ जनयुद्ध शुरु भएको र तयारी हुन अनुरोध गरिएको चिठी पढेपछि ममा खुशीको कुनै सिमै भएन, त्यसपछि मात्रै मलाई पार्टीप्रति विश्वास लाग्यो र मैले मुक्तिको सपना देख्न थालेँ । ”

२०५३ साल साउन ५ गते देखि पार्टीको पूर्णकालिन कार्यकर्ता बन्न तयार हुनु भयो । उहाँले भन्नु भयो “पूर्णकालिन बनेपछि म सायद बाँचेर यहाँसम्म आईपुगिएला भन्ने त कल्पनै थिएन, अहिले पनि युद्धमै छु जस्तो लाग्छ ! तर, यो युद्ध अलि फरक प्रकृतिको छ ।”

२०५३ मा पूर्णकालिन बन्नेबित्तिकै उहाँ तत्कालिन नेकपा (माओवादी) को इलाका सेक्रेटरी र पार्टीको जिल्ला सदस्य हुनु भएको बराल कास्कीमा पार्टीको फौजी र राजनीतिक उपस्थिती जनाउन उहाँले धेरै योजना बनाउनु भयो । कास्कीको माओवादी आन्दोलनलाई उचाईमा पुर्याउन उहाँले कुनै कसुर बाँकी राख्नु भएन, त्यसैले माओवादीभित्र कास्कीमा बढी योगदान गर्ने नेताको रुपमा उहाँ परिचित हुनुहुन्छ ।

५७ मा पार्टीले उहाँलाई पर्वत जिल्लाको सेक्रेटरीको जिम्मेवारी दियो, सशक्त उपस्थिती देखाएका बराल ५९ मा फेरि सेक्रेटरी सहित इन्चार्जको जिम्मेवारी लिएर कास्कीमा फर्किनु भयो । तत्कालीन एकिकृत माओबादी पार्टीको पोलीट ब्यूरो सदस्य समेत हुनु भयो । २०७० सालको संविधान सभाको उमेदवारी रहनु भएको थियो भने त्यसै गरी २०७४ सालमा प्रदेश सभा सदस्यमा निर्वाचित हुनु भयो । उहाँ हाल माओबादी केन्द्रका संसदीय दलका उपनेता र सार्वजनिक लेखा समितिको सदस्य समेत हुनु हुन्छ ।

कास्कीको निर्वाचन क्षेत्र नं ३ को ‘क’ बाट निर्वाचित भएका बरालको २०७७ जेठ ८ गते बरालको स्वास्थ्यमा ठुलो समस्या आइपर्यो । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा फाष्ट्याकबाट इन्टरनल’ हर्नियाको सफल शल्यक्रिया पछि उहाँले आफ्नो जीवनमा दोश्रो जुनी पाएको अनुभव बताउनु भयो ।

केही बर्ष अघि बरालको आन्द्रामा समस्या आएकोले प्रतिष्ठान हुदै काठमाण्ठौं सहित भारतसम्म उपचार गर्न पुग्नु भएको थियो । जनयुद्ध र जनआन्दोलनको उत्कर्षको वेला २०६२ कार्तिकमा उहाँको स्पाइनल कार्ड (ढाँडको शल्यकृया) समेत गरिएको थियो ।

Comments
Loading...