भैँसी किन्न पोखरा महानगरले कृषकलाई दियो रु १७ लाख अनुदान

हिमाली आवाज । पोखरा महानगरपालिकाले कृषकलाई भैँसी खरीद गर्न अनुदान दिएको छ ।दूधमा महानगरलाई आत्मनिर्भर बनाउँदै कृषकको आय आर्जनमा वृद्धि गर्ने उद्धेश्य सहित महानगरको भैँसी प्रवद्र्धन कार्यक्रम अन्तर्गत आइतबार १० वटा भन्दा बढी भैँसी पाल्ने ५० जना कृषकलाई अनुदान रकम हस्तान्तरण गरिएको हो ।

गण्डकी प्रदेशका अर्थमन्त्री रामजी प्रसाद बरालले कृषकहरुलाई अनुदान रकम हस्तान्तरण गर्नुभएको थियो ।कृषकसँगको ५० प्रतिशत लागत साझेदारीमा जनही रु ३४ हजार १२० का दरले ५० कृषकलाई रु १७ लाख छ हजार वितरण गरिएको महानगर पशु महाशाखा प्रमुख नवराज अधिकारीले जानकारी दिनुभयो ।

महानगरको कृषक वर्गीकरणमा समावेश भएर हालसम्म अनुदान नपाएका र व्यावसायिक उन्मुख कृषकलाई सो अनुदान रकम प्रदान गरिएको उहाँको भनाई छ ।

उहाँले भन्नुभयो,“महानगरलाई दूध उत्पादनमा आत्मनिर्भर बनाउने योजना अनुसार भैँसी खरीदमा अनुदान उपलव्ध गराइएको हो । यसबाट कृषकलाई व्यावसायक बन्न उत्प्रेरित गर्ने विश्वास लिएका छौँ ।”

अरुणोदय दुग्ध उत्पादक तथा नश्ल सुधार सहकारी संस्थाको समन्वयमा कृषकले भैँसी खरीद गरेको बिलका आधारमा अनुदान उपलव्ध गराइएको महानगरले जनाएको छ ।महानगरले पशुपालक किसानलाई सात वर्गमा वर्गिकरण गरेर परिचय पत्र वितरण गरिसकेको छ ।
प्रदेश सरकारले १५० भन्दा बढी गाईभैंसी पाल्ने र रु एक करोड भन्दा बढी लगानी गरेका किसानलाई विशिष्ट कृषक, ६१ देखि १५० वटासम्म गाईभैंसी पाल्ने र रु एक करोडसम्म लगानी गर्ने किसानलाई उद्यमी कृषकमा वर्गिकृत गरिएको छ ।

यसैगरी ३० देखि ६० वटासम्म गाईभैंसी पाल्ने र रु ५० लाख भन्दा बढी लगानी गर्ने किसानलाई व्यवसायीक कृषक, १० देखि ३० वटासम्म गाईभैंसी र रु ५० लाखसम्म लगानी गर्ने किसानलाई व्यवसाय उन्मुख कृषक, पाँच देखी नौ वटासम्म गाईभैंसी र रु १० लाखसम्म लगानी गर्ने किसानलाई साना व्यवसायी कृषक भनेर वर्गिकरण गरेको छ ।

कार्यक्रममा अर्थमन्त्री बरालले अनुदान वितरण कार्यक्रमप्रति आम कृषकको सँधै गुनासो रहँदै आएको भन्दै वास्तविक कृषकले अनुदान पाउने व्यवस्था गर्नुपर्ने बताउनुभयो । उहाँले उत्पादनमा आधारित अनुदान कार्यक्रम प्रभावकारी र पारदर्शि हुने समेत उल्लेख गर्नुभयो ।

महानगरका कार्यवाहक प्रमुख मञ्जुदेवी गुरुङले दूध, तरकारी, माछा र मासुमा पोखरालाई आत्मनिर्भर बनाउन निर्वाहमुखी नभई व्यावसायिक कृषि गर्न आवश्यक बताउनुभयो ।

Comments
Loading...