पुम्दीभुम्दीको प्रवद्र्धनका लागि पर्वतीय दौड, तयारी अन्तिम चरणमा

हिमाली आवाज । पोखराको फेवातालपारी अवस्थित पोखरा–२२ पुम्दीभुम्दीको प्रवद्र्धन गर्ने उद्धेश्यले आगामी असोज २४ गते पर्वतीय दौड हुने भएको छ । पुम्दी–भुम्दी क्षेत्रको प्राकृतिक, सांस्कृतिक तथा पर्यटकीय सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउने लक्ष्य राखिएको दौडको तयारी अन्तिम चरणमा पुगेको शनिवार पोखरामा आयोजित पत्रकार सम्मेलनमा पोखरा प्रवद्र्धन केन्द्रका अध्यक्ष समेत रहनुभएका कार्यक्रम संयोजक दीननाथ बरालले जानकारी दिनुभयो ।

उहाँका अनुसार पर्वतीय दौडका लागि हालसम्म १८ जिल्लाका ८० बढी धावकले नाम दर्ता गराइसकेका छन् । खेल पर्यटन मार्फत् ग्रामीण पर्यटन र कृषि अर्थतन्त्रलाई जोड्ने उद्देश्य दौडको छ ।
फेवातालसँग जोडिएको र धार्मिक तथा पर्यटकीय सम्भावना बोकेको पुम्दीभुम्दी पछाडि परेको भन्दै दौडका माध्यमबाट यस ठाउँको प्रचारप्रसार गर्ने उद्धेश्य राखिएको बरालले बताउनुभयो ।
पुम्दीभुम्दी विशाल महादेवको मूर्ति, विश्व शान्ति स्तुपा तथा बुद्ध पार्कका कारणले पर्यटनका लागि प्रचुर सम्भावना रहेपनि ओझेलमा परेको भन्दै पोखरा प्रवद्र्धन केन्द्र तथा पोखरा क्लिक मिडिया प्रालिले तीन वर्षदेखी दौड आयोजना गर्दै आएको छ ।
“पोखरा आसपासका सम्भावित ग्रामीण पर्यटकीय गन्तव्यको पहिचान गरी बजार क्षेत्रमा आउने पर्यटकलाई ग्रामीण क्षेत्रसँग जोड्न पर्वतीय दौड प्रभावकारी माध्यम बन्ने अपेक्षा गरेका छौँ । ” संयोजक बरालले भन्नुभयो ।

विश्वशान्ति स्तूपबाट सुरु हुने दौड पुम्दीकोटस्थित विशाल महादेवको मूर्ति परिक्रमा गर्दै वडा कार्यालय, न्यालडाँडास्थित कालाबाङ घरेडी बुद्धपार्कमा पुगेर सम्पन्न हुनेछ । आयोजकका अनुसार आठ किलोमिटर दूरीको दौडमा खुला, वडास्तरीय खुला, महिला, यू–१६, विदेशी र भेट्रान्स गरी छ विधामा प्रतिस्पर्धा गराइनेछ ।
प्रतियोगितामा खुलातर्फ प्रथम हुने धावकले रु ५० हजार नगद पुरस्कार प्राप्त गर्ने भएका छन् । यस्तै प्रतियोगितामा द्धितीय, तृतीय, चौथो र पाँचौँ हुनेले क्रमश ः रु ३० हजार, रु १५ हजार, रु सात हजार र रु तीनहजार प्राप्त गर्नेछन् ।

वडास्तरीय खुला, महिला र यू–१६ विधाका प्रथम, द्वितीय र तृतीय हुने खेलाडीले क्रमशः रु १५ हजार, रु सात हजार र रु तीनहजार सहित हित मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।
विदेशी धावकतर्फ विजेताले रु १५ हजार र उपविजेताले रु सात हजार तथा भेट्रानतर्फ विजेताले रु १५ हजार र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
पोखरा–२२ का वडाध्यक्ष हिमलाल बरालले फेवातालसँगै जोडिएको भएपनि पुम्दीभुम्दी पछाडि परेको बताउनुभयो । लेकसाइडको तालपारि रहेको पुम्दी–भुम्दी क्षेत्रको खेल पर्यटन प्रवद्र्धनमा पर्वतीय दौडले महत्वपूर्ण योगदान पु¥याउने उहाँको भनाई छ ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलले पर्वतीय दौड प्रतियोगिता आयोजकको मात्र नभई पोखराका सम्पूर्ण पर्यटन व्यवसायीसमेतको अपनत्वको कार्यक्रम भएको बताउनुभयो । अन्तर्राष्ट्रियस्तरमा नेपाललाई पदक दिलाएका धावकहरू प्रतियोगितामा सहभागी भएको अवस्थामा आवश्यक आतिथ्य सेवा उपलब्ध गराउने जानकारी दिनुभयो ।

खेलका माध्यमबाट पोखरा–२२ सहित समग्र पोखराका ग्रामीण क्षेत्रमा रहेको खेल पर्यटनको सम्भावना उजागर गर्न प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने आयोजक केन्द्रका उपाध्यक्ष असफल गौतमले बताउनुभयो । प्रतियोगितामा नेपाल पर्यटन बोर्ड र पोखरा महानगरपालिकाको प्रवद्र्धन, प्रदेश खेलकुद परिषद् गण्डकीको समन्वय तथा पोखरा महानगरपालिका वडा नम्बर २२ को सहकार्य रहेको छ ।

प्रतियोगिता सम्पन्न गर्न अनुमानित रु १८ लाख ९७ हजार खर्च हुने केन्द्रका सचिव सागर सुनारले बताउनुभयो । प्रतियोगिताको प्रथम पुरस्कार अन्तर्राष्ट्रिय म्याराथन धावक तथा सहारा यूकेका पूर्वअध्यक्ष अवकाशप्राप्त लेफ्टिनेन्ट रिटायर्ड कुसाङकुमार गुरुङले प्रायोजन गर्नुभएको छ ।

Comments
Loading...