पोखराका पर्यटन व्यवसायीले मागे पाँच हजार कोरोना खोप 

हिमाली आवाज । पोखराका पर्यटन व्यवसायीहरुले कोरोना खोपको व्यवस्था नहुँदासम्म व्यवसाय सञ्चालनको अवस्था नरहेको भन्दै प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् ।

पर्यटन क्षेत्रको पुनःउत्थान तथा व्यवसाय सञ्चालनका लागि कोरोना विरुद्धको पाँच हजार खोप व्यवसायीलाई आवश्यक भएको पर्यटन व्यवसायीको भनाई छ ।

पर्यटन व्यवसायीहरुको छाता संस्था पोखरा पर्यटन परिषद्को नेतृत्वमा आज गण्डकी प्रदेशका अर्थमन्त्री रामजी प्रसाद बराललाई मन्त्रालयमा भेट गरेर व्यवसायीले अविलम्व खोपको व्यवस्था गर्न माग गरेका हुन् ।

परिषद्का अध्यक्ष गोपी बहादुर भट्टराईले पहिलो चरणमा होटल तथा रेष्टुरेण्ट सहितका मजदुर एवं व्यवसायीहरुका लागि पाँच हजार कोरोना विरुद्धको खोप आवश्यक भएको बताउनुभयो ।

उहाँले भन्नुभयो,“कोरोना खोपको व्यवस्था नहुँदासम्म पर्यटन व्यवसाय सञ्चालनको अवस्था छैन । सरकारले यस क्षेत्रलाई प्राथमिकतामा राखेर खोप उपलव्ध गराउने विश्वासमा छौँ ।”

गण्डकी प्रदेश सरकारले गत वर्ष कार्यान्वयनमा ल्याएको रु एक अर्वको व्यवसाय  जीवन रक्षाकोष अधिकांश साना तथा मझौला व्यवसायीको पहँुचमा नभएकाले यसलाई व्यवसायीमैत्री बनाउन परिषद्ले माग गरेको छ ।

यसैगरी बैंक तथा वित्तिय संस्थाबाट लिएको ऋणको किस्ता तथा व्याज आगामी दुई बर्षसम्म तिर्न सक्ने कुनै सम्भावना नभएकोले कर्जा तालिकालाई पुनःतालिकिरण गर्नुपर्ने व्यवसायीको माग छ ।

नेपाल राष्ट्र बैंकले ल्याउने मौद्रिक नीतिमा  आगामी आर्थिक बर्ष २०७८÷०७९ मा पर्यटनलाई प्राथामिकता प्राप्त क्षेत्रको रुपमा सम्वोधन गरी हरेक बैंकले बढीमा पाँच प्रतिशत ऋण सहुलियत व्याजदरमा पर्यटन उद्योगमा अनिवार्य लगानी गर्ने व्यवस्था गर्नुपर्ने माग सरकारसँग राखिएको अग्रज पर्यटन व्यवसायी अग्नी कँडेलले बताउनुभयो ।

अर्थमन्त्री बरालले प्रदेश सरकारले खोप ब्यबस्थापन गर्न केन्द्र सरकारसँग पनि पहल गरिरहेको बताउँदै कोरोनाबाट थलिएको पर्यटन व्यवसायीको मागलाई सम्वोधन गर्न पहल गरिने बताउनुभयो ।

Comments
Loading...