पोखराका व्यवसायीबाट कोरोना खोपका लागि सरकारसँग पुनः ताकेता

हिमाली आवाज । पोखरा उद्योग वाणिज्य संघले संक्रमणको जोखिममा रहेका उद्योगी÷व्यवसायीहरुलाई कोभिड १९ खोपको प्राथमिकताको सूचीमा राख्न पुनः गण्डकी प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ ।

कोभिडसँगैको निषेधाज्ञाले सुस्ताएको व्यवसायलाई पुनर्जीवन दिन तथा दैनिक हजारौं व्यक्तिसँग सम्पर्क हुने व्यवसायीहरु खोपबाट बञ्चित हुँदा संक्रमण फैलन सक्ने खतराप्रति सचेत रहन पनि प्रदेश सरकारलाई सुझाएको छ ।

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कोइरालाको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले मुख्यमन्त्री कृष्णचन्द्र नेपालीसमक्ष पोखराको पर्यटनसहित समग्र व्यवसाय जोगाउने दायित्व सरकारकै भएको स्मरण गराउँदै व्यवसायीले खोप पाउँदा अर्थतन्त्र उकालो लाग्ने जिकिर पनि गर्दै ज्ञापनपत्र पनि बुझायो ।

ज्ञापनपत्र बुझेसँगै भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले व्यवसायीसहित प्रदेशका सबै नागरिकलाई खोप दिलाउन सरकार निरन्तर लागिरहेको बताउनुभयो ।

‘सरकारको पहिलो प्राथमिकता खोप नै हो,प्रदेश सरकारले खोपकै लागि बजेट पनि विनियोजन गरेको छ,मुख्यमन्त्री नेपालीले भन्नुभयो,‘तर, प्रदेश तहबाट खोप खरिदको बाटो नखुल्दा र खोपको मात्रा केन्द्रले नै तोक्ने हुँदा सबैलाई समयमा खोप दिन नसकिएको हो ।’ उहाँले केन्द्र सरकारसँग केही बढी खोप मागिएको जानकारी दिँदै पर्याप्त खोप आउनासाथ प्राथमिकता तोकेर सबैलाई खोप दिने आश्वासन पनि दिनुभयो ।

गण्डकीका कानून, संचार तथा प्रदेश सभा मामिलामन्त्री विन्दुकुमार थापाले व्यवसायीहरुको लागि खोप दिने कार्य सुरु गर्नेतर्फ प्रदेश सरकारले पहल गरेको जानकारी दिँदै खोप प्राप्त भएपछि अर्थतन्त्रले गति लिन्छ भन्नेमा प्रदेश सरकार सहमत भएको भनाई राख्नुभयो ।

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कोइरालाले प्रधानमन्त्री शेरबहादुृर देउवाले खोपलाई प्राथमिकतामा राख्नु सकारात्मक भएको बताउँदै यथासक्य छिटो व्यवसायीलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो । उहाँले व्यवसायीहरुको लागि निश्चित मात्रामा खोप छुट्याएर पोखरा प्रदर्शनी केन्द्रमै खोप लगाउने व्यवस्था मिलाउन पनि सुझाव दिनुभयो ।

नेपाल पर्यटन बोर्डका पूर्वसदस्य गणेशबहादुर भट्टराईले करदातालाई खोपको प्राथमिकतामा नराख्नु दुर्भाग्यपूर्ण भएको बताउँदै खोपको लागि प्रशासन गुहार्नुपर्ने बाध्यता हट्नुपर्ने माग गर्नुभयो ।

बोर्डका अर्का पूर्वसदस्य बासु त्रिपाठीले सरकारले काठमाडौंवासीलाई खोपको प्राथमिकतामा राखेको र बाहिरका व्यवसायीहरुलाई दोस्रो दर्जाको नागरिकसरह व्यवहार गर्नु दुर्भाग्यपूर्ण भएको बताउनुभयो । अन्तरक्रिया कार्यक्रममा बोल्दै पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराई, पूर्वअध्यक्ष चिरञ्जिवी पोखरेल, पोखरा पर्यटन परिषद्का सचिव रामचन्द्र शर्मा, पोउवा संघका कार्यलगायतले व्यवसायीहरुको लागि कम्तिमा २० हजार डोज खोप उपलब्ध गराउन सरकारसँग आग्रह गर्नुभयो ।

प्रतिनिधि मण्डलमा पोखरा उद्योग वाणिज्य संघका उद्योगतर्फका उपाध्यक्ष गोकर्ण कार्की, महासचिव सुरेन्द्रमान विजुक्छे,कोषाध्यक्ष बलराम आचार्य,उमहासचिव केशवबहादुर खत्री, कार्यसमिति सदस्यद्धय भरत केसी तथा हिरामणि पण्डितसहित पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्षहरु, सल्लाहकार, कार्यसमितिका पदाधिकारी र सदस्य तथा पर्यटनसम्वद्ध विभिन्न संघ÷संस्थाका प्रतिनिधिहरुको सहभागिता थियो ।

Comments
Loading...