समृद्धिका लागि सरकार र निजी क्षेत्रबीच दरिलो सम्वन्ध : मुख्यमन्त्री पोखरेल

हिमाली आवाज । गण्डकी प्रदशेका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सरकार निजी क्षेत्रसँग सहकार्य गर्न आतुर रहेको बताउनुभएको छ ।

पोखरा उद्योग वाणिज्य संघले सोमबार गरेको बधाई तथा शुभकामना कार्यक्रममा उहाँले आर्थिक समृद्धिका लागि सरकार र निजी क्षेत्रबीचको सम्बन्ध दरिलो हुनुपर्ने भनाइ राख्नुभयो । उहाँले भन्नुभयो,‘ लगानीमैत्री वातावरणका लागि नीतिगत, कानुनी, संस्थागत संरचना र प्रक्रियागत सुधार के गर्नुपर्छ हामीलाई सुझाव चाहिएको छ, हाम्रो क्षमताले भ्याएसम्म सहकार्य गर्न सरकार तयार छ ।’

युवाहरुलाई उद्योग व्यवसायतर्फ आकर्षित गर्न प्रदेश सरकारले ‘स्टार्टअप’ र ‘इनोभेसन’ लाई प्राथमिकतामा राखेको बताउँदै व्यवसाय र उद्योगसँग अहिले प्रविधि जोडिएको र प्रविधिकै कारण लागत मूल्य कम पर्नेर उपभोक्तासम्मले अनुकुल मूल्यमा सामान प्राप्त गर्न सक्ने भनाइ राख्नुभयो ।

उत्तरको कोरोला र दक्षिणको त्रिवेणी नाका खुलाएर अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धन गर्नुपर्ने भन्दै मुख्यमन्त्री पोखरेलले यसका लागि संघ सरकारसँग सहयोग मागिरहेको बताउनुभयो । पोखरामै क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनिरहेकाले यसबाट अधिकतम लाभ लिन आजैबाट तयारी थाल्नुपर्ने उहाँको भनाई छ ।

भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्काले प्रतिकुल समयबीच व्यवसायीहरु रहेको भन्दै उनीहरुको वाध्यता आफूले बुझेको बताउनुभयो । २१ अर्ब केन्द्रको अनुदान हुँदा हामीले ३० अर्बको बजेट ल्याउनुपर्ने वाध्यता औंल्याउँदै आन्तरिक राजश्व वृद्धि नगर्दासम्म प्रदेशमा ठूला परियोजना परिकल्पना गर्न नसकिने उहाँको भनाई छ ।

अर्थमन्त्री रामजी बराल जीवनले सानो बजेट लिएर सरकार अगाडि बढेको भन्दै निजी क्षेत्रलाई साथमै लिएर आफूहरुले काम गर्ने बताउनुभयो । पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्मा कँडेलले व्यवासायीहरुलाई खोप प्रदान गर्न लागि परेको भनाइ राख्नुभयो ।

कानुन, सञ्चार तथा प्रदेश मामिला मन्त्री बिन्दुकुमार थापाले सरकार आफैले व्यापार व्यवसाय गर्न नसक्ने भएकाले त्यस्तै खालको वातावरण बनाउनुपर्ने बताउनुभयो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री मधुमाया अधिकारी गुरुङले समावेशिताका आधारमा विकास गर्नुपर्नेमा जोड दिनुभयो ।नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले प्रदेशको राजधानी पोखराको समग्र विकासका लागि सरकार गम्भीर भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

नेपाल उद्योग वाणज्य महासंघ केन्द्रीय सदस्य बाबुराम गिरीले चुनौतीबीच आएको अहिलेको सरकारबाट आफूहरुले धेरै अपेक्षा गरेको बताउनुभयो ।पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कोइरालाले सहजरुपमा व्यवसाय गर्ने वातावरण नभएको भन्दै प्रदेश सरकारसँग संघ सहकार्य गरेर अगाडि बढ्न तयार रहेको भनाइ राख्नुभयो ।

कार्यक्रम संयोजक एवं पोखरा उद्योग वाणिज्य संघका उपाध्यक्ष अर्जुन पोखरेलले कोरोनाले मारमा परेका व्यवसायीलाई उकास्ने गरी सरकारले पहल थाल्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा शिक्षा संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठ, जलस्रोत, सिँचाइ तथा ऊर्जा मन्त्री हरिशरण आचार्य, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री चन्द्रबहादुर बुढा, वन तथा वातावरण मन्त्री दीपक थापालाई सम्मान गरिएको थियो ।

Comments
Loading...