कास्कीमा सार्वजनिक तथा निजी यातायातमा पुनः जोर विजोर लागू

हिमाली आवाज । पछिल्ला दिनमा कोरोना भाइरस सङ्क्रमण र मृत्युदर बढ्दै गएपछि जिल्लामा निषेधाज्ञाको आदेशलाई पुनः कडाई गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरी आज राति १२०० बजेदेखी लागू हुने गरी आगामी भदौ १० गते राति १२ः०० बजेसम्म यसअघि जारी निषेधाज्ञाको आदेशलाई कडाई गर्दै जिल्लाभित्र सञ्चालन हुने सार्वजनिक तथा निजी यातायातमा जोर गते जोर नम्बर र विजोर गते विजोर नम्बरका सञ्चाल गर्ने गरी जोर विजोर प्रणाली लागू गरिएको जनाएको छ ।

प्रशासनले सार्वजनिक यातायात सञ्चालन गर्दा स्वास्थ्य मापदण्डको पालना गर्न र स्वीकृत सिट संख्या भन्दा बढी यात्रु नराख्न आग्रह गरेको छ । अत्यावश्यक सेवाका सवारीमा भने जोर विजोर लागू नहुने स्पष्ट पारेको छ ।

कोभिड–१९ सङ्क्रमण दर, मृत्युदर आदिमा क्रमिक बृद्धि हुँदै गएको र त्यसको फैलावट र रोकथामलाई नियन्त्रणका लागि जिल्ला कोभिड–१९ व्यवस्थापन समितिको हिजोको बैठकले निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिनुभयो ।

कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रणका कार्यहरु प्रभावकारी रुपमा सञ्चालन तथा व्यवस्थापनका लागि यसअघिको आदेशलाई निरन्तरता दिँदै स्थितिलाई भयावह हुन नदिन जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र(डिसिसिएमसी)को आज बसेको बैठकले निषेधाज्ञाको अवधि थप गरेको प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिनुभयो ।

प्रशासनले सबै प्रकारका सभा, सम्मेलन, गोष्टी, तालिम, सेमिनार तथा जुलुस, जात्रा, महोत्सव गर्न निषेध गरेको छ । सिनेमा हल, पार्टी, प्यालेस, रंगशाला, फुटसल,खेलकूद स्थल जिमखाना, शैक्षिक संस्था सञ्चालनमा रोक लगाइएको छ ।

Comments
Loading...