हिमाली आवाज । विजयादशमी, दीपावली,छठ लगायतका चाडपर्वका समयमा हुन सक्ने सवारी दुर्घटनालाई न्यूनीकरणका लागि ट्राफिक प्रहरीले चाडपर्व सुरक्षा योजना बनाएर कार्यान्वयन सुरु गरेको छ ।
चाडपर्वको समयमा सवारी दुर्घटना लगायत नियम उल्लङ्घनका घटनामा समेत वृद्धि हुन सक्ने भएकाले घटनाहरुलाई समयमै नियन्त्रण गरी सुरक्षित तवरले चाड पर्व मनाउने वातावरणका लागि सुरक्षा योजना कार्यान्वनमा ल्याइएको गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय पोखराका प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले जानकारी दिनुभयो ।
उहाँका अनुसार गण्डकी प्रदेशका ११ वटै जिल्ला ट्राफिक प्रहरी कार्यालयहरुबाट कार्यान्वयन हुने गरी चाडपर्व सुरक्षा योजना तयार गरी कार्यान्वयनमा ल्याइएको छ । चाडपर्व सुरक्षा योजना अन्तर्गत ३०३ जना ट्राफिक प्रहरी परिचालन हुने जनाइएको छ ।

चाडपर्वमा हुने सवारी दुर्घटना न्यूनिकरण गर्ने, सडक प्रयोगकर्ताहरुमा ट्राफिक चेतनाको विकास, सवारी साधनको प्रयोग गरी हुने अपराध नियन्त्रण, सडक यातायातलाई सुरक्षित बनाई यात्रुमैत्री बनाउनु र कोरोना सङ्क्रमणको जोखिमबाट सर्वसाधरणलाई सचेतनाका कार्यक्रम सञ्चालन चाडपर्व सुरक्षा योजना छन् ।
प्रहरी नायब उपरीक्षक केसीले सुरक्षा योजना अनुसार क्षमता भन्दा बढी यात्रु तथा माल सामान ओसार पसार हुन नदिने,यात्रु ठगिने र लुटिने सम्भावनालाई न्यून गर्ने, धार्मिक स्थलहरुमा तीर्थयात्री र दर्शनार्थीहरुको व्यवस्थापनमा सहजीकरण रहेको जानकारी दिनुभयो ।
दसैँ तिहारका समयमा प्रदेशका ६७ स्थानमा स्थायी प्रहरी डिउटी, ५१ स्थानमा नियमित चेकजाँच, हाललाई २८ स्थान र आवश्यकता अनुसार थप हुने गरी मादक पदार्थ सेवन चेकिङ, २६ स्थानमा यात्रु सहायता कक्ष, १५ वटा मोवाइल गस्ती, क्वुइक रेस्पोन्स टोली १२ र राजमार्ग गस्ती १२ वटा रहेको प्रहरीले जनाएको छ ।
विपद उद्वार तथा कोरोना जोखिम नियन्त्रणमा १२ टोली परिचालन हुने बताइन्छ । सुरक्षा योजना अनुसार प्रदेश भित्रका जिल्लाहरुमा पहिचान अत्याधिक दुर्घटनाग्रस्त स्थलहरुमा सम्वन्धित जिल्ला ट्राफिक प्रहरी कार्यालयहरुबाट विहान ०६ः०० बजे देखि राती १२ः०० बजे सम्म अत्यधिक दुर्घटना हुने समयमा दिनको दुई पटक चेकजाँच गरिने प्रनाउ केसीले जानकारी दिनुभयो ।