प्रधानमन्त्रीद्धारा पोखरा अन्तर्राष्ट्यि विमानस्थल निरीक्षण, निर्माण कार्यप्रति खुसी

हिमाली आवाज । प्रधानमन्त्री शेरबहादुर देउवाले पोखरा महानगरपालिका वडा नं १४ छिनेडाँडामा निर्माणाधीन पोखरा अन्तराष्ट्रिय विमानस्थलको निर्माण कार्यप्रति सन्तुष्टि व्यक्त गर्नुभएको छ ।

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको निर्माणाधिन विमानस्थलको आज निरीक्षण पश्चात संक्षिप्त प्रतिक्रिया दिदै उहाँले कोरोनाका समयमा पनि भैरहेको निर्माण कार्यले आँफुलाई खुसी लागेको बताउनुभयो ।

विमानस्थल सञ्चालनमा ल्याउनका लागि समस्याका रुपमा रहेको विमानस्थलको दक्षिणतफस्थित रिट्ठेपानी डाँडा काट्ने काम अघि बढाउन सरकारले सहजीकरण गर्ने प्रधानमन्त्री बताउनुभयो । उहाँले भन्नुभयो, “विमानस्थलको भौतिक प्रगति प्रति म खुसी छु, डाँडा कटानका लागि सरकारले सहजीकरण गर्छ ।”

प्रधानमन्त्री देउवालाई पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल आयोजना निर्देशक प्रदिप अधिकारीले हालसम्मको भौतिक प्रगति तथा निर्माणका क्रममा आइपरेका समस्याका बारेमा जानकारी गराउनुभयो । उहाँका अनुसार विमानस्थलको हालसम्म ८५ प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ ।

पूर्ववत् सम्झौता अनुसार गत साउनमा सम्पन्न हुनुपर्ने उक्त आयोजना विश्व्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस(कोभिड–१९) का कारण निर्धारित समयमा पूरा हुन नसकेको हो । विमानस्थल आयोजना प्रमुख विनेश मुनकर्मीले आयोजनाको म्याद एक वर्ष थप भएकाले यस अवधिमा सबै काम सम्पन्न भएर विमानस्थल सञ्चालनमा ल्याउने तयारी रहेको जानकारी दिनुभयो ।

विमानस्थलको दुई हजार ५०० मिटर लामो धावन मार्ग(रनवे) गत वर्ष नै सम्पन्न भएको थियो । टर्मिनल भवन, एटिसी टावर, ह्याङ्गर लगायतका १४ वटा भवन निर्माण कार्य सम्पन्न भएर साजसज्जा र विद्युत तथा उपकरण जडान कार्य भइरहेको छ ।

यसैगरी ट्याक्सी–वे, ह्याङ्गर, एप्रोन, पार्किङ निर्माण लगायतका कामहरू सम्पन्न भएको आयोजनाले जनाएको छ । विमानस्थलको मुख्य प्रवेशद्वारको सडक निर्माण सम्पन्न भएर सडकको बीच भागमा सडक बत्ती जडान गरिएको छ ।

जग्गा अधिग्रहणको ९९ प्रतिशत कार्य सकिएको बताइन्छ । विमानस्थल तीन हजार ८९९ रोपनी क्षेत्रफलमा फैलिएको छ । रु २२ अर्बको लगानीमा चीनको सिएएमसी ईञ्जिनिरिङ कम्पनीले विमानस्थल निर्माण गरिरहेको छ । विमानस्थलका लागि वि.सं.२०३१ सालमा छिनेडाँडाको तीन हजार १०० रोपनी जमिन अधिग्रहण गरिएको थियो ।

प्रधानमन्त्रीको निरीक्षणका क्रममा आयोजनाका तर्फबाट रिट्ठेपानी डाँडा कटान, ल्याडफिल साइट र आयल निगमको डिपो निर्माण आदि काममा ढिलाई भएको लगायतका विषयमा बुँदागत रुपमा जानकारी गराइएको आयोजना प्रमुख मुनंकर्मी बताउनुभयो ।

उहाँले भन्नुभयो, “एप्रोचमा पर्ने रिठेपानी डाँडा कटान, ल्याण्ड फिल साइट र आयल डिपो र वर्षातको समयमा नहरको पानीको समस्या समाधान गर्न ठोस रुपमा काम अघि बढ्न सकेको छैन, यसका सम्बन्धमा प्रधानमन्त्रीज्यूलाई ध्यानकर्षण गराएका छौं ।”

निरीक्षणका क्रममा गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति व्यवस्था मन्त्री मणिभद्र शर्मा कंडेल, भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्का, शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठ, कास्की काँग्रेसका सभापति कृष्ण केसी लगायतको उपस्थिति थियो ।

प्रधानमन्त्री देउवा विमानस्थको निरीक्षण पछि राजधानी काठमाडौ फर्कनुभएको छ । उहाँ ंआइतबार साक्षर गण्डकी प्रदेश घोषणा कार्यक्रममा सहभागी बन्न पोखरा आउनुभएको थियो । पोखरा बसाइका क्रममा उहाँले उक्त कार्यक्रमका साथै नेपाली काँग्रेसले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रमका साथै कार्यकर्ता भेटघाटमा व्यस्त बन्नुभएको थियो । –––

 

Comments
Loading...