पोखराबाट घान्द्रुक जाँदै गरेको जीप दुर्घटना,आठ जनाको घटनास्थलमै मृत्यु

हिमाली आवाज । कास्कीको अन्नपूर्ण गाउँपालिकामा आज दिउँसो जीप दुर्घटना हुँदा आठ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
पोखराबाट जिल्लाको पर्यटकीय गाउँ अन्नपूर्ण–११ घान्द्रुक जाँदै गरेको जीप दिउसो २ः०० बजेको समयमा अन्नपूर्ण–१० स्थित कलाभीर भन्ने ठाउँमा सडकबाट अन्दाजी ११० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

जीपमा चालक सहित १० जना यात्रु सवार रहेकामा आठ जनाको घटनास्थलमै मृत्यु भएको स्थानीयवासीले बताएका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुवास हमालले दुर्घटनाको जानकारी पछि प्रहरी टोली घटनास्थलमा जाँदै गरेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो,“दुर्घटनामा परेर केहीको मृत्यु भएको भन्ने जानकारी आएको छ । हामी घटनास्थलतर्फ जाँदैँछौँ । अस्पताल ल्याएपछि मात्र अवस्था थाहा होला ।” घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

स्थानीय प्रहरी तथा स्थानीयबासीले घाइतेको उद्धार गरी अस्पताल ल्याउँदै गरेको अन्नपूर्ण–११ का वडाध्यक्ष हिम गुरुङले जानकारी दिनुभयो । जीप रिजर्भ गरेर घुम्नका लागि आएका पर्यटकहरु दुर्घटनामा परेको प्रारम्भिक जानकारी रहेको उहाँले बताउनुभयो ।

Comments
Loading...