पोखराको ८० किमी क्षेत्र र व्यस्त ३० चोकहरुमा ‘हाइमास्ट लाइट’ जडान हुँदै

हिमाली आवाज । भौगोलिक रुपमा देशकै सवैभन्दा ठूलो पोखरा महानगरपालिकाका सडकका मुख्य र व्यस्त चोकहरुमा स्मार्ट सडक बत्ती र उच्च क्षमतायुक्त ‘हाइमास्ट लाइट’ जडान गरिने भएको छ ।

पोखरा महानगरपालिका र नेपाल विद्युत प्राधिकरणको साझेदारीमा पर्यटकीय शहर पोखरालाई उज्यालो सहरका रुपममा विकास गर्न बत्ती जडान कार्य हुन लागेको हो ।‘हाइमास्ट लाइट’ले सहरको सौन्दर्य वृद्धि गर्नुका साथै रातिको समयमा यात्रा गर्ने सवारी चालक तथा पैदलयात्रीहरुलाई समेत सहयोग पुग्ने विश्वास लिइएको छ ।

स्मार्ट सडक बत्ती र ‘हाइमास्ट लाइट’ जडान तथा विस्तार कार्य गर्न सहमति भएर काम अगाडि बढाइएको महानगरका प्रवक्ता धनबहादुर नेपालीले जानकारी दिनुभयो ।उहाँका अनुसार महानगरपालिकाले नगरभित्रको ८० किमी क्षेत्र भित्र सडक बत्ती जडान र पोखराका व्यस्त ३० वटा चोकमा ‘हाइमास्ट लाइट’ जडान गर्न विस्तृत आयोजना प्रतिवेदन(डिपीआर) तयार गरेको थियो ।

महानगर र विद्युत प्राधिकरणबीच ‘हाइमास्ट लाइट’ जडानका लागि सहमति भएपछि प्राधिकरणको तर्फबाट रु १२ करोड ७५ लाख ८९ हजार बजेट स्वीकृत भएर बोलपत्र आह्वान लगायतका काम अघि बढेको थियो ।प्रवक्ता नेपालीले भन्नुभयो,“विद्युत प्राधिकरणसँगको सहकार्यमा पोखरा बजार क्षेत्रमा स्मार्ट सडक बत्ती राख्नका लागि कार्य अगाडि बढेको छ । सम्झौता अनुसार सो योजनाको लागतमा महानगरपालिका र प्राधिकरणको बराबर साझेदारी रहनेछ ।”

पोखरा महानगरपालिकाले साझेदारी गर्ने रकम मध्ये रु एक करोड ५० लाख प्राधिकरणको खातामा जम्मा गरिसकेको छ । दसै लगत्तै निर्माण कम्पनीलाई काम थालनी गर्न विद्युत प्राधिकरणले पत्राचार गरिसकेको बताइन्छ ।

यसैगरी पोखरा महानगरपालिका भित्रको ढललाई व्यवस्थापन गर्नका लागि गुरु योजना तयार पार्न पोखरा महानगरपालिका, खानेपानी मन्त्रालय, खानेपानी विभाग र जापान अन्तर्राष्ट्रिय समन्वय संस्था (जाइका) बीच सहमति भएको छ ।सहमति अनुसार दुई वर्षमा सो आयोजनाले पोखराको सम्पूर्ण ढल व्यवस्थापनको गुरु योजना तयार पार्नेछ ।

उक्त कार्यको लागि जापानले निजी कम्पनी छनोट गरी सकेको र नोभेम्बरको (कात्तिक) पहिलो हप्ताबाट विज्ञहरुको टोली पोखरामा खटिइ आउने महानगरले जनाएको छ ।दीर्घकालीन विकासको सोच सहित महानगर अगाडि बढेको र उक्त कार्यले यस महानगरलाई सुरक्षित र स्मार्ट सहर निर्माण सघाउने महानगर प्रवक्ता नेपालीले बताउनुभयो ।

Comments
Loading...