गाउँपालिका कार्यालयभित्र पार्टीको विधान छापिएको भन्दै काँग्रेस माछापुच्छ्रेको आपत्ति

हिमाली आवाज । कास्कीको माछापुच्छ्रे गाउँपालिकाका कर्मचारीले कार्यकक्षभित्र बसेर नेपाल कम्युनिष्ट पार्टी(एमाले)को विधान छाप्ने र बाइण्डिङको काम गरेको भन्दै नेपाली काँग्रेसले आपत्ति जनाएको छ ।

काँग्रेस माछापुच्छ्रे गाउँपालिका कार्यसमितिका सभापति विरेन्द्र गुरुङले प्रेस विज्ञप्ति जारी गरी राष्ट्र र जनताको सेवामा खटिनुपर्ने राष्ट्रसेवक कर्मचारी कुनै पार्टी विशेषको विधान छाप्ने कार्यमा व्यस्त देखिनाले सिँगो कर्मचारी पंक्ति र गाउँ कार्यपालिकाको कार्यालयको धज्जी उडाउने काम भएको उल्लेख गर्नुभएको छ ।

काँग्रेसले घटनाको सत्य तथ्य छानविन गरी घटनामा संलग्न कर्मचारीलाई दोषी ठहरिए कानून बमोजिम गर्न समेत माग गरेको छ ।
नेपाल विद्यार्थी संघका कार्यकर्ताहरु हिजो गाउँ कार्यपालिका कार्यालयमा पुग्दा सूचना अधिकारीको कार्यकक्षमा विधान छाप्ने र बाइण्डिङको काम भइरहेको फेला परेको काँग्रेसले जनाएको छ । गाउँपालिकाका कर्मचारीले विधान मिलाउँदै गरेको भिडियो काँग्रेस कार्यकर्ताले खिचेका थिए । सो भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

गाउँपालिकाका सूचना अधिकारी युवराज पौडेलले भने बाहिरबाट छापेर ल्याइएको विधानलाई आफ्नो कार्यकक्षमा ‘स्टापलर’ मात्र गरिएको बताउनुभएको छ ।

हिमाली आवाजसँग कुरा गर्दै उहाँले बाहिर प्रचार गरिएजस्तो कार्यकक्षमै विधान छाप्ने र बाइण्डिङ नभएको भन्दै पौडेलले भन्नुभयो,“बाहिरबाट आएको दुई प्रति विधानको कपीलाई अध्यक्ष ज्यूले स्टापलर गरेको छैन होला, गरेर मेरो कार्य कक्षमा राख्नुहोस् भन्नु भएकाले स्टापलर मात्र गरिएको हो । अन्यथा केही पनि होइन ।”

Comments
Loading...