जनयुद्धका शहीद थमन परियारको पोखरामा स्मरण

हिमाली आवाज । जनयुद्धका शहीद थमन परियारको १७ औँ स्मृति दिवसका दिन आज पोखरामा स्मृति सभा आयोजना गरिएको छ ।

थमन परियार स्मृति प्रतिष्ठान नेपालको आयोजनामा आयोजित स्मृति सभामा शहीद परियारका योगदानका बारेमा चर्चा गर्दै शहीदका सपना र पदचाप पछ्याउन सकेमा मात्र उहाँप्रति सम्मान हुने धारणा सहभागीको थियो । थमनलाई बुझ्न र अनुसरण गर्नुपर्ने दायित्व रहेकामा जोड दिइयो ।

कार्यक्रममा प्रतिनिधिसभाका सांसद एवं नेकपा माओवादी केन्द्र गण्डकीका अध्यक्ष हरिराज अधिकारी(कुमार)ले आक्रामक ढंगबाट संगठन विस्तार सुदृढीकरणका साथ अघि बढ्दा माओवादी पहिलो पार्टी बन्ने अवसर रहेको बताउनुभयो । उहाँले पार्टीले राजनीतिमा गल्ती नगरेकाले सो अवसरमा माओवादी बाहेक अन्य कसैलाई पनि नभएको उल्लेख गर्नुभयो । नेता अधिकारीले नेपाली मोडलको समाजवाद स्थापनाका लागि रणनीति प्रस्ष्ट हुनुपर्नेमा जोड दिनुभयो ।

पार्टी केन्द्रीय समितिका सदस्य एवं कास्की जिल्ला इन्चार्ज राजकाजी गुरुङले आगामी सम्मेलनमा पार्टीले विचार र आन्दोलनको समिक्षा गर्ने बताउनुभयो ।

कार्यक्रममा  गण्डकी प्रदेशका सांसद एवं अर्थ विकास समितिका सभापति दीपक कोइराला, कास्की जिल्ला संयोजक बखानसिँह गुरुङ,माओवादी केन्द्रका नेता एवं वुद्धिजिवी रामराज रेग्मी, वरिष्ठ पत्रकार कोमलनाथ बराल, महानगर कमिटीका अध्यक्ष विश्वप्रकाश लामिछाने, माओवादीका नेता झलकपाणी तिवारी,संविधानसभा सदस्य तेजकुमारी पौडेल, प्रतिस्ठानका अध्यक्ष लालमोहन तिवारी लगायतले शहीद परियारका योगदानका बारेमा चर्चा गर्नुभएको थियो ।

Comments
Loading...