अर्थमन्त्री शर्माद्धारा निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निरीक्षण

हिमाली आवाज । अर्थमन्त्री जनार्दन शर्मा(प्रभाकर)ले पोखरामा निर्माणाधीन क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गर्नुभएको छ ।
पोखरा महानगरपालिका–१४ छिनेडाँडामा निर्माण भइरहेको विमानस्थलको शनिबार निरीक्षण गर्दै उहाँले हालसम्मको प्रगतिका बारेमा जानकारी लिनुभएको हो ।

विमानस्थल आयोजनाका उपप्रवन्धक कृष्ण प्रसाद पौडेलले अर्थमन्त्री शर्मालाई हालसम्मको प्रगति, काममा देखिएका समस्या र सरकारका तर्फबाट गर्नुपर्ने कामका बारेमा जानकारी गराउनुभएको थियो । आयोजना उपप्रवन्धक पौडेलले हालसम्म विमानस्थलको ८७ प्रतिशत काम सम्पन्न भएको जानकारी गराउनुभएको थियो ।

विमानस्थलको दक्षिणमा अवस्थित रिठेपानी डाँडा कटान, ल्याण्डफिल साइट स्थानान्तरण, पहिरो व्यवस्थापन र बर्खाको भल पानी नियन्त्रण आयोजनाका प्रमुख समस्या रहेको बताउँदै प्रवन्धक पौडेलले सरकारले समस्या समाधानमा सहयोग गर्नुपर्ने बताउनुभएको थियो । नहरका माध्यमबाट बर्खाको भल पानी नियन्त्रणका लागि रु ३८ करोड लागत अनुमान गरिएकामा बजेट अभावमा काम अघि बढ्न नसकेको आयोजनाले जनाएको छ ।

सो अवसरमा अर्थमन्त्री शर्माले आयोजनाको बाँकी काम सम्पन्न गर्नका लागि बजेटको अभाव हुन नदिने र विमानस्थल सञ्चालनमा बाधा पर्न नदिने प्रतिवद्धता व्यक्त गर्नुभयो । राष्ट्रिय गौरवका रुपमा रहेको आयोजनालाई छिटो सम्पन्न गर्नका लागि सरकारका तर्फबाट आवश्यक काम गरिने उहाँले उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो,“बजेट अभावमा काम अपूरा भएर एयरपोर्ट सञ्चालनमा बाधा पर्न दिइने छैन । विमानस्थलका समस्या समाधानका लागि अन्य मन्त्रालयसँग समेत समन्वय गरेर समस्या समाधान गरिनेछ ।”

पूर्ववत् सम्झौता अनुसार गत साउनमा सम्पन्न हुनुपर्ने विमानस्थलको काम कोरोना महामारीका कारण निर्धारित समयमा पूरा नभएपछि एक वर्ष म्याद थप गरिएको छ ।

विमानस्थलको दुई हजार ५०० मिटर लामो धावन मार्ग(रनवे) गत वर्ष नै सम्पन्न भएको थियो । टर्मिनल भवन, एटिसी टावर, ह्याङ्गर लगायतका १४ वटा भवन निर्माण कार्य सम्पन्न भएर साजसज्जा र विद्युत तथा उपकरण जडान कार्य भइरहेको आयोजनाको आर्थिक प्रशासनका वरिष्ठ अधिकृत सविन फुयाँलले जानकारी दिनुभयो ।

उहाँका अनुसार विमानस्थलको ट्याक्सी–वे, ह्याङ्गर, एप्रोन, पार्किङ निर्माण लगायतका कामहरू सम्पन्न भएको छ । निर्माणाधीन विमानस्थल तीन हजार ८९९ रोपनी क्षेत्रफलमा फैलिएको छ । रु २२ अर्बको लगानीमा चीनको सिएएमसी ईञ्जिनिरिङ कम्पनीले विमानस्थल निर्माण गरिरहेको छ । विमानस्थलका लागि विसं.२०३१ मा छिनेडाँडाको तीन हजार १०० रोपनी जमिन अधिग्रहण गरिएको थियो ।

Comments
Loading...