हिमाली आवाज । पोखरा महानगरक्षेत्र भित्र आज(भदौ २७ गते) साँझ ७ बजेदेखी भोली विहान ५ बजेसम्म कफ्र्यु आदेश जारी गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय कास्कीले एक सूचना जारी गरी पोखराको वडा नं १ देखी ३३ वडासम्मका सम्पूर्ण क्षेत्रहरुमा सो आदेश गरिएको जनाएको छ । पोखरामा आज विहानदेखी बेलुकासम्म निषेधाज्ञा जारी गरिएको थियो ।
कास्की जिल्लामा हालको समयमा देखिएको घटनाक्रमबाट हुन सक्ने विरोध प्रदर्शन, तोडफोड, हुलदंगाका कारण शान्ति सुव्यवस्थालाई मध्येनजर गर्दै सो आदेश गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताउनुभयो ।

आदेश जारी गरिएको सम्पूर्र्ण क्षेत्रहरुमा कसैले आवतजावत गर्न, कुनै प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने बताइन्छ ।
कफ्र्युका अवधिमा एम्बुलेन्स, शववाहन, दमकल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीका सवारी साधन भने सञ्चालन गर्न पाइनेछ । यसैगरी भदौ २८ गते विहान ५ बजेदेखी विहान १० बजेसम्म अत्यावश्यक कार्यका लागि आवतजावत गर्न सकिने प्रशासनले जनाएको छ ।
पोखरामा गत भदौ २३ र २४ गते जेनजी प्रदर्शनकारीको प्रदर्शनका कारण सार्वजनिक सम्पत्तिमा ठूलो क्षति पुगेको छ । यहाँका अधिकाँस सरकारी कार्यालयमा आगजनी गरिएको छ । प्रशासनले थप क्षति हुन नदिनका लागि भदौ २४ देखी दिउसो निषेधाज्ञा तथा रातको समयमा कफ्र्यु लगाउँदै आएको छ ।