कास्कीमा माओवादीका पार्टी सदस्य १० हजार नाघे, वडा अधिवेशनको तयारी पूरा

हिमाली आवाज । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) कास्कीमा पार्टी सदस्यको संख्या १० हजार ३८३ पुगेको छ । माओवादीले सदस्यता नविकरणको काम सकेर वडा र पालिका अधिवेशनको अन्तिम तयारीमा जुटेको छ ।

राष्ट्रिय सम्मेलनको तयारीमा जुटेको माओवादीले निर्धारित मितिभित्र पोखरा महानगरपालिका र चार गाउँपालिकामा गरी सो संख्यामा पार्टी सदस्यता नविकरण भएको पार्टी केन्द्रीय सदस्य एवं कास्की जिल्ला इन्चार्ज राजकाजी गुरुङ(करण)ले जानकारी दिनुभयो । उहाँका अनुसार यसअघि जिल्लामा माओवादीका ८ हजार २०० पार्टी सदस्य थिए ।

जिल्ला इन्चार्ज करणले पार्टीमा युवा, महिला र उत्पीडित समुदायको आकर्षण बढेको बताउनुभयो । उहाँले भन्नुभयो,“हाम्रो पार्टीमा पछिल्लो समय आकर्षण बढेको छ । महिला, दलित, युवा लगायतको पार्टी कमिटीमा प्रतिनिधित्वको ग्यारेन्टी विधानमा भएपछि माओवादी रोज्ने बढेका छन् ।”

एकै दिन ७२ वडाको सम्मेलन

माओवादी कास्कीले मंसिर ४ गते शनिबार जिल्लाका ७२ वटै वडामा एकैसाथ अधिवेशन गर्ने भएको छ । पार्टी केन्द्रले तोकेको मितिमानै सबै वडाको अधिवेशन सम्पन्न गरिने र सम्पूर्ण तयारी पूरा भएको पार्टी केन्द्रीय प्रतिनिधि एवं पोखरा महानगर इन्चार्ज दीपक कोइरालाले बताउनुभयो ।

उहाँका अनुसार सबै वडामा सर्वसम्मत नेतृत्व चयन गरिनेछ । सर्वसहमति नभएकाको हकमा निर्वाचनका प्रक्रिया समेत अवलम्बन गर्न सकिने नेता कोइरालले जानकारी दिनुभयो ।

नेता कोइरालाले पार्टीले लिएको विचार र कार्यक्रमका कारण फेरी माओवादीमाथि आकर्षण बढिरहेको बताउनुभयो । उहाँले भन्नुभयो,“अहिले पनि देशको समग्र राजनीति माओवादी केन्द्रकै एजेण्डको वरिपरि घुमेको छ । वडा, पालिका र राष्ट्रिय सम्मेलनपछि माओवादी देशको पहिलो शक्ति बन्ने गरी नयाँ उत्साहका साथ जनतामा जानेछ । ”

मंसिर ४ गतेको माओवादीको वडा सम्मेलनको देशभर एकैपटक विहान ११ बजे अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले भर्चुअल रुपमा गर्ने कार्यक्रम रहेको छ।

Comments
Loading...