पोखरा महानगरद्धारा विपन्न १२७८ परिवारलाई निःशुल्क कुखुराको चल्ला वितरण

हिमाली आवाज । पोखरा महानगरपालिकाले महानगरका विभिन्न वडाका गरी एक हजार २७८ घर परिवारलाई निःशुल्क कुखुराको चल्ला र दाना वितरण गरेको छ ।

विपन्न परिवारलाई आयआर्जनमा सहभागी गराउने लक्ष्य अनुसार महानगर पशु सेवा शाखाले महानगरका ३३ वडा मध्ये पशुपालनका लागि अग्रणी रहेका वडा नं १५,१६,१९,२१,२२,२६,२७,२८,२९ र ३३ का गरीब र उत्पीडित समुदायलाई चल्ला वितरण गरेको हो ।

शाखा प्रमुख नवराज अधिकारीले सम्बन्धित वडा कार्यालयको सिफारिसमा छनोट गरिएका विपन्न परिवारलाई प्रति परिवार १० वटाका दरले ‘न्यू हेम्सायर’ जातका चल्ला र दाना वितरण गरिएको बताउनुभयो । यस कार्यक्रमले समावेशी समूह लाई व्यवसायिक कुखरा पालनका माध्यमबाट स्वरोजÞगार बन्न सहयोग पुग्ने विश्वास महानगरले लिएको छ ।

शाखाको चालू आर्थिक वर्षको स्वीकृत वार्षिक कार्यक्रम अनुसार दुई साताको अवधिमा रु पाँच लाख मुल्य बराबरको चल्ला वितरण गरिएको बताइन्छ । बुधबार चल्ला वितरण कार्यक्रम समापन गरिएको थियो ।

“विपन्न परिवारलाई चल्ला वितरण कार्यक्रम अघिल्ला वर्षहरुमा समेत कार्यान्वयन गरिएको थियो ।” शाखा प्रमुख अधिकारीले भन्नुभयो,“गरीब विपन्न वर्गलाई स्वरोजगार बनाउने र विस्तारै व्यवसायिक बनाउन कार्यक्रमले योगदान गरेको छ । विपन्न परिवारमा खुःशी छाएको छ ।”

चालू वर्षमा पशु विकास कार्यक्रम अन्तर्गत अपाङ्ग व्यक्तिलाई बाख्रा खरीदमा रु आठ हजार अनुदान, भकारो सुधार, भैँसी तथा गाई बाख्रा पालनमा अनुदान लगायतका कार्यक्रम शाखाबाट कार्यान्वयन गर्न लागिएको शाखाका अधिकृत राजेन्द्र लामिछानेले जानकारी दिनुभयो ।

Comments
Loading...