काँग्रेस गण्डकी अधिवेशन : महामन्त्रीमा खड्का ‘हेभिवेट’ उम्मेदवार !

हिमाली आवाज । सत्ताको नेतृत्व गरिरहेको नेपाली काँग्रेस १४ औँ राष्ट्रिय महाधिवेशनको तयारीमा छ । महाधिवेशन अन्तर्गत वडा,पालिका, प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्र अधिवेशन सम्पन्न गरेको काँग्रेसले बिहीबारदेखी प्रदेश अधिवेशन सुरु गरेको छ ।

गण्डकी प्रदेशमा पनि आजदेखी काँग्रेसको प्रथम गण्डकी प्रदेश अधिवेशन सुरु भएको छ । काँग्रेस गण्डकीको नेतृत्वका लागि प्रधानमन्त्री समेत रहनुभएका पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षकाबीच मोर्चावन्दी सुरु भएको छ ।

प्रदेश सभापतिका लागि संस्थापनबाट अर्जुन प्रसाद जोशी र रामचन्द्र पौडेल र महामन्त्री शशाङ्क कोइराला पक्षबाट साझा उम्मेदवार शुक्रराज शर्मा मैदानमा उत्रिनुभएको छ ।

देवराज चालिसे, यज्ञबहादुर थापा, रघुनाथ पौडेल र महेन्द्रध्वज जिसी पनि सभापतिको आकांक्षी हुनुहुन्छ । प्रदेश अधिवेशनका लागि शुक्रबार उम्मेदवारी मनोनयन र शनिबार मतदानको निर्वाचन कार्यतालिका यसअघिनै प्रकाशित भइसकेको छ ।सभापति पछिको महत्वपूर्ण पद प्रदेश महामन्त्रीका लागि समेत नेताहरुबीच हानथाप चलेको छ ।

संस्थापन समूहबाट गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार शहरी विकास तथा यातायात व्यवस्थामन्त्री कुमार खड्काले महामन्त्रीमा उम्मेदवारी दिनुहुने भएको छ । खड्का सरकारमा पनि मुख्यमन्त्रीपछिको वरियतामा रहनुभएको छ ।

नेपाल विद्यार्थी संघको राजनीतिबाट राजनीतिमा स्थापित भइसक्नुभएका नेता खड्का अहिलेसम्म महामन्त्रीका आकांक्षी अन्य उम्मेदवार भन्दा ‘हेभिवेट’ रहेको काँग्रेस कार्यकर्ता बताउँछन् । संघीय सरकारमा समेत क्याविनेट मन्त्री रहिसक्नु भएका महामन्त्री पदका आकांक्षी खड्का पछिल्लो समय काँग्रेस राजनीतिको केन्द्रमा हुनुहुन्छ ।महामन्त्रीमा संस्थापन समूहबाट मन्त्री खड्का सहित ईश्वर पौडेल आकांक्षी हुनुहुन्छ भने पौडेल÷कोइराला पक्षबाट हालसम्म कृष्ण केसी, ,प्रेम पौडेल र बिष्णु लामिछाने आकाँक्षा राख्नुभएको छ । केसी काँग्रेस कास्कीको निर्वतमान सभापति समेत हुनुहुन्छ । लामिछाने गण्डकी प्रदेशसभा सदस्य र पौडेल नेविसंघको पूर्व उपसभापति भइसक्नुभएको थियो ।

Comments
Loading...