माओवादी केन्द्र गण्डकीका नवनिर्वाचित अध्यक्ष गुरुङद्धारा पदभार ग्रहण

हिमाली आवाज । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) गण्डकी प्रदेश समितिको प्रथम अधिवेशनबाट नवनिर्वाचित अध्यक्ष गायत्री गुरुङ(कुसुस)ले आज पदभार ग्रहण गर्नुभएको छ ।पोखरा–१० बुद्धचोकस्थित पार्टी प्रदेश कार्यालयमा गएर उहाँले पदभार ग्रहण गर्नुभएको हो ।

अध्यक्ष गुरुङलाई पार्टी केन्द्रीय कमिटीका सदस्य एवं प्रदेशका इन्चार्ज हितराज पाण्डेले पदभार ग्रहण गराउनुभएको थियो । सो अवसरमा माओवादी केन्द्रका निर्वतमान प्रदेश सचिव देवेन्द्र पराजुली, केन्द्रीय प्रतिनिधि एवं पोखरा महानगर इन्चार्ज दीपक कोइराला, जिल्ला संयोजक बखानसिँह गुरुङ, माओवादी केन्द्रका प्रदेशका नेताहरु कपिल लामा, आसमान रोका र प्रेम रोकामगर लगायतको उपस्थिति थियो ।

प्रदेश समितिको मङ्सिर २५ गतेदेखी पोखरामा सुरु भएर सोमबार विहान सम्पन्न प्रथम अधिवेशनले गुरुङको अध्यक्षतामा २०१ सदस्सीय समिति निर्वाचित गरेको थियो ।

अध्यक्षमा चयन हुनुभएका नेत्री गुरुङ माओवादी केन्द्र गण्डकी प्रदेशसभा संसदीय दलको प्रमुख सचेतक समेत हुनुहुन्छ । उहाँ अखिल नेपाल महिला सङ्घ(क्रान्तिकारी)को केन्द्रीय सचिवको जिम्मेवारीमा समेत रहनुभएको छ ।

जनयुद्धको सुरुआतदेखी भूमिगत भएर उहाँ माओवादी आन्दोलनमा होमिनुभएको थियो । गण्डकी प्रदेशको पार्टी सङ्गठनलाई व्यवस्थित गर्दै पार्टी निर्माणमा आफू क्रियाशिल रहने अध्यक्ष गुरुङले प्रतिवद्धता व्यक्त गर्नुभयो ।

अध्यक्ष गुरुङले पार्टीको राष्ट्रिय सम्मेलनपछि मात्र प्रदेशका पदाधिकारी चयन हुने संकेत गनुृभयो । उहाँले भन्नुभयो,“अब हामी युद्धस्तरमा राष्ट्रिय सम्मेलनको भव्य तयारीमा लाग्छौँ । सबैसँग सल्लाह र छलफल गरेर मिलाउनुपर्नेछ । राष्ट्रिय सम्मेलनपछि पदाधिकारी चयन गछौँ ।”

यसैबीच नवनिर्वाचित अध्यक्ष गुरुङले आज एक प्रेश वक्तव्य जारी गरी प्रदेश समिति भव्यताका साथ सम्पन्न भएको र अधिवेशनको सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्नुभएको छ।

उहाँले प्रदेश समितिमा पार्टीद्धार निश्चित गरिएको महिला ३५ प्रतिशत, दलित १९ प्रतिशत र मुस्लिमको १ दशमलव ७१ प्रतिशत प्रतिनिधित्व गरिएको बताउनुभयो ।अधिवेशन विचार निर्माण र संगठन विस्तारका योजनामा केन्द्रीत भएको अध्यक्ष गुरुङको भनाई छ ।

Comments
Loading...