मादीका मृगौला पीडित कृष्णको उपचारमा साढे आठ लाख भन्दा बढी सहयोग

हिमाली आवाज । लामो समयदेखी दुबै मृगौलामा समस्या आएर उपचाररत कास्कीको मादी गाउँपालिका–७ का कृष्ण गुरुङलाई थप उपचारका लागि आर्थिक सहयोग उपलव्ध गराइएको छ ।

सोही वडाको थाक गाउँका चेली हाल हङकङ निवासी सामाजिक अभियन्ता समाजसेवी नानी कमला गुरुङको पहलमा सङ्कलित रु आठ लाख ६५ हजार २८० पीडित परिवारलाई आज हस्तान्तरण गरिएको हो । शिक्षासेवी तथा समाजसेवी लक्ष्मी गुरुङ र अभियन्ता मनु गुरुङले सो रकम पीडित परिवारलाई हस्तान्तरण गर्नुभयो ।

‘कृष्ण गुरुङ बचाउ अभियान’का कोषाध्यक्ष एवं युवा नेता दुर्गाबहादुर गुरुङले बिरामीको मृगौला प्रत्यारोपणको प्रक्रिया सुरु भएको बताउनुभयो ।

कमजोर आर्थिक अवस्थाका कारण सहयोगी मनहरुबाट स्वदेश तथा विदेशमा सहयोग रकम जुटाएर उपचारमा सहयोग गर्ने योजना अनुसार हालसम्म रु १८ लाख सङ्कलन भएको उहाँले जानकारी दिनुभयो ।

सहयोग रकम हस्तान्तरण कार्यक्रममा सोही वडाका वडाध्यक्ष लालबहादुर गुरुङले विदेशमा रहेपनि दुःखको बेलामा सक्दो सहयोग गर्नेहरुप्रति आभार व्यक्त गर्नुभयो ।

सहयोग समितिका अध्यक्ष चन्द्रबहादुर गुरुङले सामाजिक अभियन्ता लगायतहरुबाट सहयोग जुटाएर पीडितको उपचार भइरहेकाले बिरामीको जीवन बचाउनका लागि स्वेच्छीक सहयोग गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा जनकल्याण तमु समाजका अध्यक्ष इन्द्र बहादुर गुरुङ, सल्लाहकार नन्द बहादुर गुरुङ, अभियानका सचिव बालकृष्ण गुरुङ लगायतले सहयोगदाताप्रति आभार व्यक्त गर्नुभयो ।

Comments
Loading...