हिसान कास्कीको ‘स्पोर्टस् मिट’मा तीन हजार विद्यार्थी पोखरा रंगशालामा उत्रिने

हिमाली आवाज । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपाल (हिसान) कास्कीको आयोजनामा पोखरामा हुने १४ औं संस्करणको हिसान ‘स्पोर्टस मिट’मा तीन हजार विद्यार्थीले प्रतिस्पर्धा गर्ने भएका छन् ।

‘स्वास्थ्य, भातृत्व र प्रतिभाका लागि खेलकुद’को नारा सहित यही पुस ८ गतेदेखि ११ गतेसम्म पोखरा रङ्गशालामा सञ्चालन हुने सो मिटमा भलिबल, टेबल टेनिस, ब्याडमिन्टन र बास्केटबल गरी चार इभेन्टमा सो सङ्ख्यामा विद्यार्थीहरुको सहभागिता रहने हिसान कास्कीका अध्यक्ष यामबहादुर रोकाले जानकारी दिनुभयो । यसवर्षदेखी ब्याडमिन्टन थपिएको छ ।

कक्षा ११ र १२ मा अध्यनरत विद्यार्थीहरूलाई लक्षित गरी प्रतियोगिता आयोजना गरिएको बताउँदै आगामी दिनमा देशका लागि आवश्यक राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका क्षमतावान् खेलाडी उत्पादनका लागि समेत प्रतियोगिता सार्थक हुने अध्यक्ष रोकाले बताउनुभयो ।

स्पोर्टस मिट अन्तर्गत दुई तहमा प्रतियोगिता हुनेछन् । जस अन्तर्गत ११ र १२ कक्षामा अध्ययनरत विद्यार्थी र कलेज तथा विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरुले छुट्टा–छुटटै इभेन्टमा प्रतिष्पर्धा गर्नेछन् ।

प्रतियोगिामा हिसान कास्कीमा आवद्ध विद्यालयका छात्र÷छात्राहरु गरी तीन हजार मैदानमा उत्रिने भएपनि आठ हजार विद्यार्थीहरु प्रत्यक्ष तथा परोक्ष रुपमा सहभागी हुने हिसानका उपाध्यक्ष दिवाकर जैसीले बताउनुभयो ।

बास्केटबल, भलिवलतर्फ कक्षा ११÷१२अन्तर्गत दुवै इभेन्टमा छात्र ७० र छात्रा ७० गरी १४० टिमको सहभागिता रहेको छ । त्यस्तै टेवल टेनिस र व्याडमिन्टनमा छात्र÷छात्रा एकल तथा डबल्समा सहभागिता जनाउने छन् ।

कलेज तथा विश्वविद्यालयका छात्र÷छात्राहरुले तीन वटा इभेन्टमा सहभागिता जनाउने छन् । उनीहरुले बास्केटबल, टेवल टेनिस र व्याडमिन्टनमा प्रतिष्पर्धा गर्ने आयोजकले जनाएको छ । हिसान कास्कीमा ७१ शैक्षिक संस्थाहरु आवद्ध छन् ।

Comments
Loading...