गण्डकी प्रदेशमा तीन सातामा २६८ स्वास्थ्यकर्मी कोरोना सङ्क्रमित

हिमाली आवाज । पछिल्लो समय देशभर कोरोना सङ्क्रमित थपिदै जाँदा महामारी विरुद्ध अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी समेत सङ्क्रमित हुने क्रम बढेको छ ।

कोरोना भाइरसको तेस्रो लहर ओमिक्रोनको जोखिम बढ्दै जाँदा गण्डकी प्रदेशमा तीन साताका अवधिमा चिकित्सक, स्टाफ नर्स लगायत २६८ जना स्वास्थ्यकर्मी सङ्क्रमित भएका छन् ।

प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका अनुसार गत पुस १७ देखी माघ ७ गतेसम्म गण्डकीका मनाङ बाहेकका जिल्लामा सो सङ्ख्यामा स्वास्थ्यकर्मी सङ्क्रमित भएका छन् ।

प्रदेशको राजधानी शहर पोखरामा सबैभन्दा बढी स्वास्थ्यकर्मी कोरोना सङ्क्रमति भएको निर्देशनालय मातहतको प्रदेश स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार कास्कीमा सबैभन्दा बढी १३८ जना स्वास्थ्यकर्मी सङ्क्रमित हुनुहुन्छ ।

उहाँले भन्नुभयो,“पछिल्लो कोरोना लहरमा स्वास्थ्यकर्मी पनि तीव्र रुपमा सङ्क्रमति हुने क्रम बढ्दो छ। कोरोनाका बिरामीको उपचार हुँदै आएका पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, सङ्क्रामक तथा सुरुवा रोग अस्पताल र म्याग्दीको बेनी अस्पतालका स्वास्थ्यकर्मी बढी सङ्क्रमित हुनुभएको छ ।”

स्वास्थ्यकर्मीनै सङ्क्रमित भएपछि स्वास्थ्य उपचार सेवा सुचारु गर्न केही कठिनाइ भएपनि सेवानै रोकिने अवस्था हालसम्म नरहेको बताइन्छ ।
यसैगरी तनहुँमा ४२, लमजुङ २०, नवलपरासीपूर्व १७, स्याङ्जा १२, बाग्लुङ ११, पर्वत १०, म्याग्दी नौ, गोरखा छ र मुस्ताङमा तीन जना स्वास्थ्यकर्मीमा सङ्क्रमण पुष्टि भएको जनाइएको छ ।

हिमाल पारिको जिल्ला मनाङमा भने यस अवधिमा कोही पनि स्वास्थ्यकर्मी सङ्क्रमित भएका छैनन् ।निर्देशनालयले सङ्क्रमित स्वास्थ्यकर्मी सबै जना होम आइशोलेसनमा रहेको र अवस्था सामान्य रहेको जनाएको छ ।

प्रदेशमा सबै सङ्क्रमितको तथा कोभिडसँग सम्बन्धीत तथ्याङ्क स्थानीय तह तथा स्वास्थ्य संस्थाबाट सूचना व्यवस्थापन इकाई(आइयमयु)मा राखेपछि निर्देशनालयले सार्वजनिक गर्दै आएको छ ।

Comments
Loading...