हिमाली आवाज । आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिताको पाँच पटकको च्याम्पियन थ्रीस्टार क्लब २० औँ संस्करणको प्रतियोगितामा नेपाली सेनाको विभागीय त्रिभुवन आर्मी फुटबल क्लबसँग पराजित भएको छ ।
सहारा क्लब पोखराको आयोजनामा यही माघ ६ गतेदेखी पोखरा रङ्गशालामा जारी प्रतियोगिताको आज सम्पन्न अन्तिम क्वाटरफाइनलको खेलमा आर्मीले थ्रीस्टारमाथि १–० को कठिन जीत हासिल गरेको हो ।
आहा ! राराको इतिहासमा हालसम्म उपाधि जित्न नसकेको आर्मीले प्रतियोगिताको पाँच पटकको च्याम्पियन थ्रीस्टारलाई पराजित गर्दै सेमिफाइनलमा मनाङ मस्र्याङदी क्लबसँगको भेट पक्का गरेको हो ।
खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएकामा दोस्रो हाफमा आर्मीको जीतमा खेलको ६४ औँ मिनेटमा टङ्क बस्नेतको स्थानमा वैकिल्पक खेलाडीका रुपमा मैदान प्रवेश गर्नुभएका राजीव गुरुङको एकमात्र गोल निर्णायक रह्यो ।
खेलको ७० औँ मिनेटमा मैदानको मध्यभागमा थ्रीस्टारका रक्षापङ्क्तिका खेलाडी बल रोक्ने क्रममा चिप्लिएर लड्न पुगेपछि गुरुङले बल अगाडि बढाउँदै गोलकिपर समेत अगाडि आएको मौकामा पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहारले सिधै जाली चुमेपछि आर्मीले खेलमा अग्रता बनाउन सफल भयो ।

खेलमा एक गोलले पछि परेपछि बराबरीका लागि अन्तिमसम्म मिहिनेत गरेको थ्रीस्टारले गोल गर्न नसक्दा प्रतियोगिताको आफ्नो पहिलो खेलबाटै बाहिरिन बाध्य बन्यो ।
खेलमा आर्मीले पनि थप केही गोलका अवसर सिर्जना गरेपनि विपक्षी टोलीका गोलकिपर प्रिसो बाधक बन्नुभयो । आर्मीका केही सुन्दर गोलका प्रयासलाई प्रिसोले असफल पार्नुभएको थियो । राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिग फुटबलमा यी दुई टोलीले गोल रहित बराबरी खेलेका थिए ।
खेलपछिको पत्रकार सम्मेलनमा आर्मीका प्रशिक्षक राजु तामाङले बलियो टोली थ्रीस्टारसँग जीत हासिल भएकामा खुःशी व्यक्त गर्नुभयो । लिग खेल्ने टोलीका पाँच खेलाडी राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा रहेकाले समेत टिम सेट हुन र फिनिसिङमा समस्या भएको उहाँको भनाई छ । तामाङले मनाङसँगको सेमिफाइनलको खेलमा फिनिसिङमा सुधार ल्याउने योजना रहेको सुनाउनुभयो ।
थ्रीस्टारका प्रशिक्षक उर्जन श्रेष्ठले राम्रो खेल्दा पनि रक्षापङ्क्तिका खेलाडी मैदानमा लड्न पुग्दा सोही क्षणमा गोल भएको बताउनुभयो । उहाँले टोलीका केही खेलाडी घाइते भएकाले समेत आशातित प्रदर्शन सम्भव नभएको उल्लेख गर्नुभयो ।
प्रतियोगिता अन्तर्गत बुधबार शहीद स्मारक ए डिभिजन लिगको डिफेण्डिङ च्याम्पियन मच्छिन्द्र फुटबल क्लब र सशस्त्र प्रहरीको एपीएफ फुटबल क्लबकाबीचमा पहिलो सेमिफाइनल खेल हुने आयोजक सहाराले जनाएको छ ।