एपीएफ पहिलो पटक आहा ! रारा गोल्डकप च्याम्पियन

–कृष्ण दवाडी
हिमाली आवाज । आहा राराको दुई दशकको इतिहासमा छ पटकको च्याम्पियन मनाङ मस्र्याङदी फुटबल क्लबलाई पराजित गर्दै सशस्त्र प्रहरीको एपीएफ फुटबल क्लबले पहिलो पटक गोल्डकपको उपाधि चुमेको छ ।

यही माघ ६ गतेदेखी सहारा क्लब पोखराको आयोजनामा पोखरा रङ्गशालामा सञ्चालन भएको २० औँ संस्करणको प्रतियोगिताको आज सम्पन्न फाइनल खेलमा एपीएफले मनाङलाई टाइब्रेकरमा ५–४ गोल अन्तरले हराउँदै इतिहास रच्न सफल भएको हो ।

आहा रारामा १४ वर्षपछि फाइनलमा स्थान बनाएको एपीएफले च्याम्पियन बन्दै रु १० लाख एक हजार पुरस्कार र ट्रफी हात पार्न सफल हुँदा मनाङले रु पाँच लाख एक हजारमा चित्त बुझाउन बाध्य बन्यो । हालसम्म उपाधि जित्न नसकेको विभागी टोली एपीएफले उपाधि उचालेसँगै आहा राराले नयाँ च्याम्पियन पाएको छ ।

खेलको निर्धारित र अतिरिक्त ३० मिनेटको खेल दुई गोलको बराबरीमा सकिएपछि टाइब्रेकरबाट खेलको निर्णय गरिएकामा एपीएफ टाइब्रेकरमा भाग्यमानी भयो ।एपीएफको जितमा गोलकिपर युया कोरियामा नायक बन्नुभयो । पेनाल्टी सुटआउटमा मनाङका ओलावाले अफिजको प्रहारलाई रोक्दै कोरियामाले एपीएफलाई पहिलो पटक च्याम्पियन बनाउँदै ऐतिहासिक सफलता दिलाउनुभयो ।

टाइब्रेकरमा एपीएफका नविन लामा, सनिस श्रेष्ठ, रवि थिङ, मणि लामा र अर्मान्ड बिडोमले गोल गर्न सफल हुनुभयो । मनाङका फ्रेङलिन, दयानन्द सिंह, शिव गुरुङ र रुपेश केसीले मात्र गोल गर्नुभयो ।खेलको २१ औँ मिनेटमा एपीएफका युवराज खड्काले गोल गर्दै अग्रता बनाउनुभएको थियो । पहिलो हाफमा १–० ले पछि परेको मनाङले दोस्रो हाफमा खेलको ६७ औँ मिनेटमा दयानन्द सिँहको गोलमार्फत खेल बराबरीमा ल्याउन सफल भयो ।

खेलको ८४ औँ मिनेटमा फ्रेङलिनको गोलमार्फत मनाङले अग्रता बनाएर विजय नजिक पुगेको अवस्थामा पाँच मिनेटको इन्ज्यूरी समयको पहिलो मिनेटमा एपीएफका रवि थिङले गोल गर्दै खेललाई अतिरिक्त समयमा लैजान सफल हुनुभएको थियो । अतिरिक्त समयमा दुबै टोलीबाट कुनै पनि गोल हुन सकेको थिएन ।

‘क्याराभान गोल्डकप’ सहित १२ औँ पटक फाइनल खेलेको मनाङलाई दुई पटक मात्र फाइनल पुगेको एपीएफले स्तब्ध बनाउँदै उपाधि जित्न सफल भएको हो । एपीएफ १४ वर्षपछि दोस्रो पटक फाइनल पुगेको हो ।

विसं २०६४ मा छैटौँ संस्करणमा पहिलो पटक फाइनल पुगेको एपीएफ नेपाल पुलिस क्लबसँग २–० ले पराजित भएको थियो ।
मनाङले भने विसं २०६० को दोस्रो, विसं २०६१ मा तेस्रो, २०६८ को दशौँ, विसं २०७२ मा चौधौँ, विसं २०७३ को पन्धौँ र विसं २०७६ को १८ औँ संस्करणको उपाधि जितेको थियो ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीको उपाधि एपीएफका डिफेण्डर राजन गुरुङले प्राप्त गर्नुभयो । उहाँले पुरस्कार बापत एक थान स्कुटर पाउनुभयो ।यसैगरी उत्कृष्ट गोलकिपर एपीएफका युया कोरियाम, डिफेण्डर एपीएफका राजन गुरुङ, मिडफिल्डर एपीएफकै रवि थिङ, फरवार्ड मनाङका ओलावाले अफिज, उत्कृष्ट प्रशिक्षक एपीएफका कुमार थापा, सर्वाधिक गोलकर्ता एपीएफका रवि थिङ घोषित हुँदै जनही रु २५ हजारका दरले पुरस्कार पाउनुभयो ।

प्रतियोगितामा नेपालका ए डिभिजनका आठ क्लब, विदेशी एक र आयोजक सहाराको गरी १० टोलीले सहभागिता जनाएका थिए ।

Comments
Loading...