माओवादी केन्द्रको केन्द्रीय समितिमा कास्कीका चार जना निर्वाचित

हिमाली आवाज । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)को आठौँ राष्ट्रिय महाधिवेशनमा कास्कीबाट चार जना केन्द्रीय समितिमा सर्वसम्मत निर्वाचित भएका छन् ।

गत पुस ११ गतेदेखी काठमाडौँमा सञ्चालन भएको माओवादी केन्द्रको महाधिवेशन आज साँझ केन्द्रीय कमिटीका सदस्यहरु चयन गर्दै सम्पन्न भएको छ । माओवादीको केन्द्रीय कमिटीले अध्यक्ष लगायतका पदाधिकारी चयन गर्नेछ । अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले महाधिवेशन हलमा केन्द्रीय समितिको नामावली प्रस्तुत गर्नुभएकामा हलले सर्वसम्मत पारित गरेको हो ।

कास्कीबाट केन्द्रीय समितिमा राजकाजी गुरुङ(करण), खिमलाल देवकोटा, दुर्गा विक र सोमति गुरुङ चयन हुनुभयो । गुरुङ र देवकोटा यसअघिनै केन्द्रीय समितिमा रहनुभएको थियो । करण जनजाति, देवकोटा खसआर्य, विक दलित महिला र सोमति गुरुङ जनजाति महिलाबाट निर्वाचित हुनुभएको हो ।

Comments
Loading...