राष्ट्रियसभा निर्वाचन : गण्डकी प्रदेशमा माओवादीका उम्मेदवार तय

हिमाली आवाज । राष्ट्रियसभा सदस्य निर्वाचन–२०७८ अन्तर्गत नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)ले गण्डकी प्रदेशका उम्मेदवार टुङ्गो लगाएको छ ।पार्टी केन्द्रले गण्डकी प्रदेशमा अन्य समूहतर्फ तनहुँका सुरेश आलेमगर र दलितर्फ गोर्खाका भुवन सुनारलाई उम्मेदवार बनाउने निर्णय गरेको माओवादी केन्द्र गण्डकीका अध्यक्ष गायत्री गुरुङले जानकारी दिनुभयो ।

आगामी माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि आज पुस २० गते उम्मेदवारको मनोनयन दर्ताको निर्वाचन कार्यतालिका छ । प्रदेश निर्वाचन कार्यालय पोखरामा उम्मेदवारको मनोनयन दर्ता गरिने कार्यालयले जनाएको छ ।

सत्तारुढ गठबन्धनबीच राष्ट्रियसभा निर्वाचनमा गठबन्धन गरेर जाने निर्णय भए अनुसार माओवादीले गण्डकीमा दुई सिट पाएको हो । गण्डकीमा तीन सिटमा चुनाव हुँदैछ । महिलातर्फ भने नेपाली काँग्रेसका कमला पन्त उम्मेदवार हुनुहुन्छ ।

नेकपा एमालले भने यसअघिनै उम्मेदवार तय गरेको थियो । एमालले अन्यतर्फ कास्कीका पुण्यप्रसाद पौडेल, दलिततर्फ स्याङ्जाका अर्जुनकुमार सुनाम र महिलातर्फ नवलपरासीका लीला पोखरेल(धनेत) उम्मेदवार बनाउने निर्णय गरेको पार्टीमा उपमहासचिव पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।

Comments
Loading...