पोखरामा ‘टाइगर कप क्लब च्याम्पिनसिप’ भलिबलको तयारी पूरा,पुरस्कार दोब्बर वृद्धि

हिमाली आवाज । पर्यटकीय सहर पोखरामा दोस्रो संस्करणको ‘टाईगर कप आमन्त्रित खुला क्लब च्याम्पिनसीप महिला÷पुरुष भलिबल प्रतियोगिता’को तयारी अन्तिम चरणमा पुगेको छ ।

आयोजक टाईगर ग्रुप पोखराले आज पोखरा रङ्गशालामा पत्रकार सम्मेलन आयोजना गरी पुस २६ देखी माघ १ गतेसम्म पोखरा रङ्गशालास्थित भलिबल कोर्टमा आयोजना गरिएको प्रतियोगिताको सहभागी टोली आउन सुरु भएको र तयारी अन्तिम चरणमा पुगेको जनाएको हो ।

प्रतियोगिताले नेपालको राष्ट्रिय खेल भलिबलको विकाससँगै आगामी दिनमा पोखरालाई अन्तर्राष्ट्रिय भलिबल केन्द्रका रुपमा विकास गर्न मद्धत पुग्ने विश्वास आयोजकको छ ।प्रतियोगितामा महिला तथा पुरुषका गरी पाँच÷पाँच टोलीको सहभागिता रहने टाइगर गु्रप अफ पोखराका अध्यक्ष नारायण प्रसाद शर्माले बताउनुभयो ।

प्रतियोगितामा महिलातर्फ विभागीय टिमहरु नेपाल पुलिस क्लव, त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरीको एपिएफ क्लवसहित न्यू डायमण्ड एकेडेमी र आयोजक संस्था टाइगर ग्रुप अफ पोखराको टिम सहभागी हुनेछन् ।पुरुषतर्फ विभागीय टिमहरु नेपाल आर्मी क्लब,नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी क्लबको एपिएफ क्लब सहित टिपटप हेल्पलाईन स्पोर्टस क्लब र गण्डकी प्रदेश टिमको सहभागिता रहने जनाइएको छ । अध्यक्ष शर्माका अनुसार ‘राउण्ड रोविन लिग’का आधारमा प्रतियोगिता सञ्चालन हुनेछ ।

बिजेताहरुलाई दिइने पुरस्कार राशीमा अघिल्लो संस्करणमा भन्दा दोब्बरले बृद्धि गरिएको प्रतियोगिताका प्रचार प्रसार संयोजक रामकृष्ण ज्ञवालीले जानकारी दिनुभयो ।प्रतियोगिताको महिला तथा पुरुष दुबैतर्फको बिजेतालाई ट्रफी सहित रु तीन÷तीन लाख, उपबिजेता महिला तथा पुरुष टोलीलाई समान रु एक लाख ५० हजारका दरले पुरस्कार प्रदान गरिनेछ ।

तृतीय हुने टोलीलाई समान रु ७५÷७५ हजार र सान्त्वना स्थान प्राप्त गर्ने महिला÷पुरुष दुबै टिमलाई समान रु २५÷२५ हजार प्रदान गरिने आयोजकले जनाएको छ । यसैगर िहरेक विधाका उत्कृष्ट खेलाडीहरुलाई जनही रु १० हजारका दरले पुरस्कार तथा ट्रफी प्रदान गरिनेछ ।

प्रतियोगितामा आयोजकको तर्फबाट सहभागी महिला टोलीको नेतृत्व नेपाली राष्ट्रिय भलिबल टिमका कप्तान अरुणा शाहीले गर्नुहुने भएको छ । सो टिममा श्रीलंकाको महिला भलिबल टोलीका क्याप्टेन सहित तीन जना खेलाडीहरुको सहभागिता रहने प्रचार संयोजक ज्ञवालीले जानकारी दिनुभयो ।

प्रतियोगिताको उद्घाटन खेलमा सोमबार दिउँसो १ बजे पुरुषतर्फको डिफेण्डिङ च्याम्पियन गण्डकी प्रदेश र सशस्त्र प्रहरीको एपिएफ क्लव आमनेसामने हुने प्रतियोगिता संयोजक शिव श्रेष्ठले जानकारी दिनुभयो ।

Comments
Loading...