हिमाली आवाज । पोखरा थिएटरको आयोजनामा दोस्रो संस्करणको गण्डकी प्रदेश स्तरिय विद्यालय नाटक महोत्सव शुक्रबारबाट सुरु भएको छ ।
फागुन १६ गते सोमबारसम्म चल्ने महोत्सवको नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ रायनले गर्नुभयो । महोत्सवको पहिलो दिनमा तीनवटा नाटक मञ्चन भएको महोत्सव संयोजक समेत रहनुभएका पोखरा थिएटरका अध्यक्ष परिवर्तनले जानकारी दिनुभयो । यसरी मञ्चन भएका नाटकमा जीउककदा लासहरु, सक्षम छात्रा र बाल विवाह रहेका छन् ।

महोत्सवमा गण्डकी प्रदेशका ८ जिल्लाका १२ नाटक मञ्चन हुनेछन् । ती नाटकहरु गन्धर्व नाटकघरमा हरेक दिन ३ वटाका दरले मञ्चन गरिनेछ । महोत्सव अन्तर्गत शनिबार हराएको खुसी, विदेशिनु पर्दाको पिडा र मेरो समाजका नारी मञ्चन हुनेछ ।
‘विद्यालयमा रंगमञ्च,अर्थपूर्ण बाल सहभागीताको आधार’ भन्ने मुल मन्त्रका साथ आयोजना गरिएको महोत्सवमा गण्डकी प्रज्ञा–प्रतिष्ठानको प्रमुख सहकार्य एंव नेपाल सङ्गीततथा नाट्य–प्रज्ञा प्रतिष्ठान काठमाण्डौं र पोखरा प्रज्ञा–प्रतिष्ठानपोखराले सहकार्य गरेका छन् ।
गएको वर्षदेखि पोखरा थिएटरले गण्डकी प्रदेशस्तरिय विद्यालय नाटक महोत्सवको आयोजन गर्न थालेको हो । त्यसभन्दा अगाडि थिएटरले पोखरा महानगरपालिका स्तरिय नाटक महोत्सव समेत आयोजना गरेको थियो ।