जनयुद्धनै नेपाली समाज परिवर्तनको बाहक

♦ भानुभक्त अधिकारी

काल माक्र्स र एंगेल्स भन्दा अघिका दार्शनिकले समाजको व्याख्या गरे तर बदल्ने कुरा गरेनन् । दर्शनलाई चिन्तन र वौद्धिक बिकासको माध्यम मात्र बनाए । तर, माक्र्स दर्शनको मूल प्रश्न समाज बदल्नु हो भने माक्र्सवाद अन्य सैद्धान्तिक अवधारणाभन्दा ऐतिहासिक उत्खननका कारण भिन्न छ । जसलाई हामी मार्क्सवाद भन्छौं , त्यो कल्पनामा होइन , ऐतिहासिक सत्यतथ्यमा आधारित छ । मार्क्स भन्छन् ,“मान्छेले आफनो इतिहास आफै बनाउँछ कसैलाई खुसी पार्न कसैले पनि इतिहास बनाउँदैन। यिनकै प्रभावले गर्दा नेपालमा पनि कम्युनिष्ट पार्टी स्थापना भएको हो । समाजमा दर्शन र सिद्धान्तका चर्चा र बहस हुन थाल्यो क्रान्तिका कुरा भए त्यस अनुसार योजना र रणनीति बन्न सकेनन् ।

समाज बदल्न जनवादी क्रान्तिको अनिवार्यता ठानिएन । आंशिक परिवर्तन र सूधारलाई क्रान्ति ठान्ने प्रवृति देखा पर्यो । नेपालको कम्युनिष्ट क्रान्तिकारी धार भुत्ते हुँदै गएको त्यस्को परिणाले गर्दा जनयुद्ध सुरु गर्नुपूर्व सरकार प्रमुख प्रधानमन्त्री शेर बहादुर देउवालाई ४० बुदें माग राख्दै जनयुद्धको संखघोष गरी २०५२ साल फाल्गुन १ गते देखि तत्कालीन समयमा अपत्यारिलो लाग्ने राजनीतिक उदेश्य बोकेर जनयुद्ध शुरु गर्यो ।जनयुद्धकालिन समयमा विभिन्न राजनीतिक उतारचढाव, राष्ट्रिय अन्तर्राष्ट्रिय कठोर संर्घष वेहोर्दै नेपालको माओवादी आन्दोलन लाई राष्ट्रिय रुपमा विस्तार र अन्तर्राष्ट्रिय रुपमा प्रभाव फैलाउदै आजको पार्टी बनेको हो ।

कतिपयले दुस्प्रचार गरेझैँ जनयुद्ध कुनै लहड वा आवेगमा सुरु गरिएको थिएन । इतिहासका विभिन्न क्रान्तिको सफलता र असफलताको अनुभवलाई संश्लेषण गरेर देशको ठोस परिस्थितिको मूल्यांकन गरेर नेपालको क्रान्तिको बाटो तय गरिएको थियो संसदीय वामपन्थले ‘उग्र–वामपन्थ’ भन्थ्यो, राजावादीले ‘विदेशी डिजाइन’ भन्थे ,उदार पुँजीवादी कित्ताले त्यसलाई ‘आतंकवाद’ भन्थे ।त्यसलाई नदेखेको र नभोगेको नयाँ पुस्ता अलमलमा छ । त्यसमा सहभागी, तर अहिले पुरानै शक्तिसँग सत्ता साझेदारी गरिरहेको एउटा तप्का तैँ चुप मै चुप छ । वास्तवमा त्यो जनयुद्ध के थियो ? त्यसका उपलब्धि र कमजोरी के थिए ? नेपाली इतिहासलाई हल्लाउने माओवादी जनयुद्धको थालनी देखि आज सम्मको अबस्थामा त्यसलाई हेर्ने र बुझ्ने फरक–फरक दृष्टिकोण प्रवाहित हुनु स्वाभाविक छ ।

सामन्ती सत्ता ध्वस्त बनाउन सशस्त्र युद्धको अनिवार्यता हुन्छ भन्ने मान्यतालाई जनयुद्धले प्रमाणित गरेको थियो । शहरी क्षेत्रबाट हुने जनआन्दोलन र परिवर्तन भन्दा भिन्न चेतनाका हिसावले पिछडिएको ग्रामिण इलाकाबाट जनयुद्ध सुरु हुनु नै यसको मूल बिशेषता थियो । त्यसमा पनि घरेलु र केहिथान भरुवा बन्दूकका भरमा सुरु गरिएको सशस्त्र युद्ध राज्यसत्ताको जरै हल्लायो । जनयुद्धले देशका सबैखाले राजनीति पार्टीलाई मुख्य समस्या बनेको थियो। माओवादी पार्टी र जनमुक्ति सेनाको प्रभावले एक प्रकारको आँधिवेरी सृजना गरेको जनयुद्धले बिश्वलाई हल्लाएको थियो ।

बास्तवमा जनयुद्ध आवाज विहिनका लागि आवाज बनेको थियो । जनयुद्धको प्रारम्भमा समाजमा देखा परेका शोषक, सामन्त, जाली, पटाहा, गुण्डागर्दी बिरुद्ध केन्द्रीत हुँदा माओवादी पार्टीले जनता सगको सम्बन्ध स्थापित गरेको थियो । माओवादी जनयुद्ध सामाजिक रुपमा जातिय, लैंगिक, क्षेत्रिय शोषण र विभेदमा परेका केन्द्रीत थियो । जातिय उत्पीडन र शोषणका बिरुद्ध जनयुद्धले नयाँ मूल्य मान्यता स्थापित गरेको थियो । आदिवासी, जनजाति, मधेसी, दलित, महिला, पिछडिएको क्षेत्रका नागरिकमा आफ्नो अघिकारका लागि संघर्षशील नयाँ चेतनाको संचार गरेको थियो ।सामन्तवादी राज्यसत्तामा आमूल परिवर्तन शान्तिपूण मार्गबाट सम्भव हुँदैन ।

माओवादी आन्दोलनले खासगरी विपन्न किसान, उत्पीडित महिला, दलित, जनजाति, मधेश र उपेक्षित क्षेत्रका समुदायमा ठूलो प्रभाव पा¥यो । उनीहरुले माओवादी आन्दोलनबाट आफ्नो भविष्य देखे । मध्ययुगीन छुवाछुत र भेदभाव विरुद्धको माओवादी क्रान्तिले उपेक्षित हजारौं दलित समुदायहरु जनयुद्धमा सरिक हुन पुगे । आधा आकाश र आधा धर्ति ओगटेका महिलामाथिको सामाजिक र सांस्कृतिक कुपरम्पराका विरुद्ध हजारौं उत्पीडित महिलाहरु माओवादी आन्दोलनमा सहभागी बने । जनयुद्धको एक मात्र राजनीतिक नारा संविधान सभाबाट संविधान भन्ने थियो । यस नारामा काँग्रेस एमाले जस्ता सूधारवादी पार्टीपनि सहमत हुँदा दोस्रो जनआन्दोलन सम्भव भएको हो । यसैको परिणामस्वरुप नेपाल संघीय लोकतान्त्रि गणतन्त्र, समावेशी तथा धर्म निरपेक्ष राष्टको रुपमा स्थापित भएको हो ।

संविधानमा आदिवासी जनजाति, महिला, दलित, मधेसी, मुस्लिम जस्ता विभेदको शिकार भएका जाति र समुदायका अधिकार संविधानमा संरक्षण भएको छ भने संविधानमा समाजवाद स्थापना गर्न सकिने मान्यता स्थापित छ ।सिंहदरबारमा भएको केन्द्रीकृत सत्ता र त्यसका अधिकार स्थानीय तहसम्म ल्याउन जनयुद्धको योगदानले सम्भव तुल्याएको हो । जनयुद्धपछि शान्ति यात्रा, द्वन्द्व र द्वन्द्व व्यवस्थापन विश्वका द्वन्द्व व्यवस्थानका लागि मार्ग दर्शन बनेको छ । संविधानमा प्रदेश तथा केन्द्रीय संसद् ३३ प्रतिशत महिलाका लागि संरक्षण, राष्टिपति वा उपराष्टपति, सभामुख वा उपसभामुख, स्थानीय तहका वडामा महिला र दलितको अनिवार्य प्रतिनिधित्वमा जनयुद्धको छाप देख्न सकिन्छ । संसद्मा आदिवासी, जनजाति, महिला, मधेसी, मुस्लिम, दलित, पिछडिएको क्षेत्रमा समानुपातिक प्रतिनिधित्व ज्ञारेण्टी गरिउको छ । राज्य सत्तामा सबै वर्ग र लिंगका प्रतिनिधित्व अहिलेको संविधानले सम्भव भएको हो ।

जनयुद्धको थालनी भए देखि आजको अबस्था सम्म आउँदा त्यसलाई हेर्ने र बुझ्ने फरक–फरक दृष्टिकोण प्रवाहित हुनु स्वाभाविक छ । मुठ्ठीभर मान्छेलाई माओवादी पार्टी स्वर्गजस्तो छ। पार्टी सानो हुँदै गए पनि एकथरीलाई अवसर कुमालेको चक्रजस्तो घुमीघुमी आउने गरेको छ। बहुसंख्यकका लागि नर्कजस्तो बनेको छ यो बास्तवमा जनयुद्धको शुरुवात अबस्था लाई हेर्नेहो भने कदापि राम्रो होईन । त्यति मात्रैले जनयुद्ध लाईनै गलत भन्न सकिन्छ त ? यो कम्युनिष्ट आन्दोलनका लागि प्रेरणाको स्रोत बनेको छ । यसले माक्र्सवादको प्रयोग शान्तिपूर्णमा गर्नुपर्छ भन्ने सोँच र दृष्टिकोणलाई चुनौती दिएको छ ।जनयुद्ध र २०६२–६३ जनआन्दोलनको फ्यूजनबाट गणतन्त्र, संघीयता, धर्म निरपेक्षता र समावेशी सिद्धान्त स्थापित भएका हुन् । जनआन्दोलनको आधार नै माओवादी जनयुद्ध बनेको थियो । जनयुद्धले २००७ क्रान्ति, २०२७–२८ सालको झापा बिद्रोह, २०४६ सालको आन्दोलन र क्रान्तिलाई पूर्णता प्रदान गरेको छ ।

एक पटक शान्त भएर बिचार गरौं के माओवादीले १० बर्ष जनयुद्ध नगरेको भए अहिले नेपाली समाजको अबस्था कस्तो हुने थियो ।सयौं बर्ष देखि रहेका बिभेदको अत्य हुने थियो अबस्य सम्भब थिएन तर आज समाजमा जुन रुपले दुई चार जना नेता बन्नको लागि मात्रै थियो भनेर चित्रण गरिदै छ यस्ले हजारौं सहिदहरुको अपमान होइन्न घाइते र अपांग हरुको मनमा गहिरो चोट पुगेको छ ।यदि सामाजिक सन्जालमा कुरलिर मात्रै परिवर्तन हुने र बोलेर मात्रै बिकास र समृद्धि हुने भए केपि ओलि ले सबै बिकास पानीजाहज देखि पाईप लाईनमा ग्यास र चन्द्रमा रकेट पुगिसकेको हुनुपर्ने हो।

त्यसैले जनयुद्ध लाई कसैले खेलाची सम्झन्छ भने त्यो दिवा सपना मात्रै हो ,त्यस्तो अधिकार कसैलाई छैन ।आजको दिनमा आउँदा हिजो गणतन्त्र चर्को बिरोध गर्नेहरुनै आज गणतन्त्र ल्याउनेहरुको नाममा दर्ज भएका छन । हिजोका सामन्ती र मण्डलेहरु गणतन्त्र नेपालमा हिरो बनेका छन् । यस अबस्थामा जनयुद्धको मुल्य,मान्यता मुद्दाहरुमा सबै पुर्व माओवादीहरुले गम्भीर रुपमा मनन गरेर जानुको विकल्प देखिदैन ।

(लेखक:नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) पोखरा महानगर कमिटीका उपाध्यक्ष हुनुहुन्छ ।)

Comments
Loading...