हिमाली आवाज । चिनियाँ निर्माण कम्पनी सिएएमसीइले निर्माण गरिरहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल नेपाललाई हस्तान्तरण गरिएको छ ।
चीनका राज्य परिषद् सदस्य एवं परराष्ट्रमन्त्री वाङ यीको नेपाल भ्रमणका अवसरमा शनिबार साँझ राजधानी काठमाडौँ र निर्माणस्थल पोखरामा आयोजित छुट्टाछुट्टै कार्यक्रमकाबीच विमानस्थल हस्तान्तरण गरिएको हो ।
काठमाडौँमा प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा चीनका परराष्ट्रमन्त्री वाङ यीले परराष्ट्रमन्त्री नारायण खड्कालाई विमानस्थलको चावी हस्तान्तरण गर्नुभयो ।
यसैगरी पोखरामा पर्यटन संस्कृति तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले विमानस्थल निर्माण सम्पन्न गरेकामा चिनियाँ सिएएमसीइका अध्यक्ष लु यानलाई कदरपत्रबाट सम्मान गर्नुभयो ।
चीनको एक्जिम बैँकको रु २२ अर्व सहुलियतपूर्ण ऋण र अनुदान सहयोगमा निर्माण निर्माण भएको विमानस्थलको मुख्य निर्माण र जडानको कार्य सम्पन्न भएपछि हस्तान्तरण गरिएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका आयोजना प्रमुख विनेश मुनंकर्मीले बताउनुभयो । उहाँका अनुसार विमानस्थलको अहिले ९३ प्रतिशत काम सम्पन्न भएकाले बाँकी काम पनि निरन्तर सञ्चालन हुनेछ ।

विमानस्थलको धावनमार्ग, टर्मिनल भवन,एयर ट्राफिक कन्ट्रोल(एटिसी) भवन लगायत विभिन्न १४ भवन, ट्याक्सी वे लगायतका मुख्य काम सकिएका छन् । बाँकी काम पनि निर्माण कम्पनीले निर्धारित समयभित्रमा पूरा गर्ने बताइन्छ ।विमानस्थल सन् २०२१ जुलाई १० भित्रमा काम सम्पन्न गरेर हस्तान्तरण गर्नुपर्ने सम्झौता रहेपनि कोरोना सङ्क्रमणका कारण निर्माण कार्य प्रभावित भएपछि एक वर्ष म्याद थपिएको थियो ।
कार्यक्रममा पर्यटनमन्त्री आलेले विमानस्थल छिट्टै सञ्चालनमा ल्याइने बताउनुभयो । सरकारले आवश्यक तयारी पूरा गरेर आगामी छ महिनाभित्रमा सञ्चालनमा ल्याउने उहाँले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो,“आजको(सेरेमोनि) कार्यक्रमले पोखराको एयरपोर्ट सम्पन्न भयो भन्ने सन्देश दिएको छ । अब यहाँका पर्यटन व्यवसायीलाई पर्यटनमा लगानी गर्नु पनि यसबाट सन्देश प्रवाह भएको छ ।”विमानस्थलको काम सम्पन्न भएकाले राष्ट्रिय अन्तर्राष्ट्रिय पर्यटकलाई लक्ष्य गरी प्याराग्लाइडिङ, ¥याफटिङ, गल्फ लगायतका मनोरञ्जनका क्षेत्रहरुमा लगानी र पूर्वाधार निर्माण गर्नुपर्नेमा मन्त्री आलेले जोड दिनुभयो । पोखरालाई पर्यटकीय राजधानी घोषणाका लागि सरकारले काम अघि बढाएको उहाँले जानकारी दिनुभयो ।
कोरोना महामारीकाबीचमा पनि निरन्तर काम गरेकामा विमानस्थल निर्माण कम्पनी, चीन सरकार र चिनियाँ एक्जीम बैँकप्रति उहाँले आभार व्यक्त गर्नुभयो ।नेपाल नागरिक उड्डयन प्राधिकरणका महाप्रवन्धक प्रदीप अधिकारीले विमानस्थल निर्माणको मुख्य काम सकिएपनि केही समस्या बाँकी रहेको बताउनुभयो ।
रिठेपानी डाँडा कटानको काम अघि बढाउन पूरक वातावरणीय प्रतिवेदन स्वीकृतीको चरणमा रहेको जानकराी दिनुभयो । उहाँले विमानस्थल सञ्चालनका लागि दक्षिणमा रहेको ल्याडफिल साइट स्थानान्तरण हुनै पर्ने बताउनुभयो ।
चिनियाँ सिएएमसीइका अध्यक्ष लु यानले नयाँ अत्याधुनिक विमानस्थल निर्माण भएको भन्दै यसको शिलान्यास र कार्य सम्पन्न समारोहमा उपस्थित हुन पाउँद गौरव लागेको बताउनुभयो । पोखरा र यस क्षेत्रको आर्थिक विकास र समृद्धिमा विमानस्थलले योगदान दिने भनाई उहाँको थियो ।