खेलकुदमन्त्री मनाङेले कर्मचारी कुटेपछि कर्मचारी युनियनले गुहारे मुख्यमन्त्री

हिमाली आवाज । गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ(दीपक मनाङे)ले मन्त्रालयका अधिकृत प्रकाश ओझालाई कुटपिट गरेकामा कास्कीका क्रियाशील विभिन्न कर्मचारी संघ संगठनले दोशीलाई कारवाहीको माग गरेका छन् ।

नेपाल निजामती कर्मचारी युनियन कास्कीका अध्यक्ष सुरेश श्रेष्ठ, राष्ट्रिय कर्मचारी संगठन(निजामती)का अध्यक्ष अर्जुनदेव ज्ञवाली र एकीकृत सरकारी कर्मचारी संगठनका अध्यक्ष सोमलाल तिवारीले आज संयुक्त वक्तव्य जारी गरी घटनाको सत्यतथ्य छानविन गरी दोशीमाथि कारवाहीको माग गरेका हुन् ।

तीनै संगठनले प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई ज्ञापनपत्र बुझाउँदै मन्त्रीबाट आफ्ना मातहतका कर्मचारी माथि यस्तो व्यवहार हुनु दुर्भाग्यपूर्ण रहेकाले कर्मचारीहरुलाई भयरहित वातावरणमा काम गर्ने वातावरणको माग समेत गरेका छन् ।

‘त्रासपूर्ण वातावरणमा कार्य गर्नुपर्ने अवस्थाको अन्त्य गरी अनुशासित, मर्यादित र भयरहित अवस्थामा आम नागरिकको सेवामा समर्पित हुने गरी कर्मचारीको पेशागत मर्यादा र आत्म सम्मान कायम गर्दै उच्च मनोबलका साथ सेवामा समर्पित हुने अवस्था निर्माणको लागि गण्डकी प्रदेश सरकार समक्ष हार्दिक अनुरोध गर्दछौं ।’ ज्ञापनपत्रमा भनिएको छ ।

उच्च राजनीतीक नेतृत्वबाट भएका यस्ता अमर्यादित गतिविधि विरुद्ध एकजुट भई दवाव दिनका लागि सम्पूर्ण जनप्रतिनिधि, समाजसेवी, नागरिक समाज, ट्रेड युनियनकर्मी र आम नागरिकलाई अपिल समेत गरिएको छ ।

कर्मचारी युनियनहरुले आजनै प्रदेश सरकारका प्रमुख सचिव रविलाल पन्थ र कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यलाई समेत ज्ञापन पत्र बुझाउँदै मन्त्री गुरुङलाई कारवाहीको माग गरेका छन् ।

Comments
Loading...