माओवादी केन्द्र पोखरामा मतदानबाट नेतृत्व चयन,अध्यक्षमा गिरी विजयी

हिमाली आवाज । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) पोखरा महानगर समितिको अध्यक्षमा हरिनारायण गिरी(विज्ञान) निर्वाचित हुनुभएको छ ।

महानगर समितिका अध्यक्ष लगायतका पदाधिकारी चयनका लागि आज भएको निर्वाचनमा गिरीले प्रत्याशी शिवजी लामिछानेलाई पराजित गर्दै अध्यक्षमा विजयी हुनुभयो ।गिरीले ३९ र लामिछानेले ३७ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत बेदनाथ भण्डारीले जानकारी दिनुभयो ।

यसैगरी समितिको उपाध्यक्षमा हर्कमान विश्वकर्मा,भानुभक्त अधिकारी र विमला पहारी विजयी हुनुभयो । सचिवमा जनक पराजुली, सहसचिवमा इश्वरी प्रसाद लम्साल र कोषाध्यक्षमा बुद्धिमाया गुरुङ निर्वाचित हुनुभएको निर्वाचन समितिका संयोजक कमल ढकालले जानकारी दिनुभयो ।

गत मङ्सिर ११ गते पोखराको अधिवेशन सम्पन्न भएर ८४ सदस्सीय समिति सदस्यहरु चयन गरेपनि नेतृत्वमा आकाँक्षीका बीचमा सहमति नहुँदा अध्यक्ष लगायतका पदाधिकारी चयन हुन सकेको थिएन ।

फागुन अन्तिम साता एक पक्षले गिरीलाईनै अध्यक्ष घोषणा गर्दै पदाधिकारी चयन गरिएको घोषणा गरेपछि विवाद उत्पन्न भएको थियो । असन्तुष्ट पक्षले सोका विरुद्ध समितिमा हस्ताक्षर सङ्कलन गरेर पार्टी जिल्ला, प्रदेश र अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) समक्ष बुझाएको थियो ।

अध्यक्ष प्रचण्डले प्रक्रियाका माध्यमबाट तत्कालै विवाद समाधान गर्न पार्टीको प्रदेश र जिल्ला नेतृत्वलाई निर्देशन दिएपछि समितिको बैठक बसेर मतदानका माध्यमबाट अध्यक्ष लगायतका पदाधिकारी चयन गरेको हो । यससँगै पार्टीभित्र देखिएको विवाद समाधान भएको माओवादीले जनाएको छ ।

Comments
Loading...