पोखरा बनाउने ‘प्यासन र प्लान’ सहित आएको छु : गठबन्धनका उम्मेदवार आचार्य

हिमाली आवाज । पोखरा महानगरपालिकाको मेयर पदका उम्मेदवार धनराज आचार्यले पोखरा बनाउने प्यासनसहित आफू उम्मेदवार बनेको बताउनुभएको छ ।

गठबन्धनले आइतबार पोखरामा आयोजना गरेको उम्मेदवार परिचयात्मक कार्यक्रममा बोल्दै सत्तारुढ गठबन्धनका तर्फबाट उम्मेदवार बन्नुभएका आचार्यले पोखरा बनाउने प्यासन र प्लान लिएर आफू उम्मेदवार बनेको स्पष्ट पार्नुभयो ।

पोखरा बनाउन चार कुरा चाहिन्छ,उहाँले भन्नुभयो,‘प्यासन, प्लान, डेडिकेसन र लिडरसीप । त्यो हामी ५ दलीय गठबन्धनमा छ ।’ उहाँले पोखरा बिगार्ने छुट कसैलाई नभएको बताउँदै भन्नुभयो,‘सँधैभरी समस्या मात्र देख्ने, सँधै कम्फर्ट जोनमा मात्रै बस्नेहरु छन् यहाँ हाम्रा प्रतिष्पर्धीहरु । तर हामी बनाउने योजना र कार्यान्वयन गर्ने आधार बनाएर आएका छौं । एकपटक विश्वास गरेर मतदान गरिदिनुस् ।’

उम्मेदवार आचार्यले गठबन्धनलाई मजबुत बनाउन पोखराका सबै वडामा साझा उम्मेदवार चयन गर्नुपर्ने बताउनुभयो । त्यसका दलहरुलाई आग्रह गर्दै उहाँले भन्नुभयो,‘बैशाख २० गतेसम्ममा साझा उम्मेदवार चयन गरौं, त्यसले एकताको सन्देश दिन्छ । त्यसो भयो भने हामी सजिलै जित्छौं ।’

कार्यक्रममा गठबन्धनका तर्फबाट उपमेयरकी उम्मेदवार कोपिला रानाभाटले गठबन्धन मुलुकको आवश्यक्ता भएको बताउनुभयो । उहाँले संविधान, लोकतन्त्र र राष्ट्रियता संरक्षणका लागि गठबन्धनलाई जिताउनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘गठबन्धनले जितेन भने फेरीपनि संविधान, लोकतन्त्र, राष्ट्रियता खतरामा पर्छ, त्यसको संरक्षणका लागिपनि गठबन्धनले जित्नुपर्छ ।’

Comments
Loading...