हिमाली आवाज । वैशाख ३० गतेको स्थानीय तह निर्वाचनको मिति नजिकिदै जाँदा उम्मेदवारहरुले आफ्नो प्रचार प्रसारलाई तीव्रता दिएका छन् । उम्मेदवारहरुले आफ्नो प्रतिवद्धता सहित घरदैलो गर्दै मत मागिरहेका छन् ।
यसैक्रममा कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ मा नेकपा(माओवादी केन्द्र)बाट वडाध्यक्षका प्रत्याशी श्रीप्रसाद घले मुख्यगरी पर्यटन केन्द्रीत योजना र प्रतिवद्धता अघि सार्नुभएको छ ।
लामो समय पर्यटनका क्षेत्रमा क्रियाशील रहनुभएका घलले सार्दिखोलाको साविक वडा नं ७ स्थित नमजुङ डाँडालाई पर्यटकीय हब बनाउने आफ्नो योजना रहेको बताउनुभयो । साविक सार्दिखोलाको वडा नं ४,५, ६ र ७ नं वडामा आइतबार घरदैलोका क्रममा उहाँले नमजुङ डाँडा सहित तारा हिलटपलाई पर्यटनको हब बनाउने आफ्नो मुख्य योजना रहेको सुनाउनुभयो ।

यसैगरी सार्दिखोलाका केही गाउँहरुमा अहिलेसम्म केन्द्रीय प्रसारण लाइन नपुगेकाले माओवादीकै नेतृत्वमा लाइन विस्तारको काम अघि बढेको वडा सदस्य पदका उम्मेदवार पुष्पराज गौतमले बताउनुभयो ।
उहाँले केन्द्रीय उर्जा मन्त्रालयबाट रु एक करोड ३० लाख लागतमा विद्युत विस्तारका लागि बोलपत्र आह्वान भएको समेत जानकारी दिनुभयो । सो वडाका माओवादी नेताहरुले गत महिना उर्जामन्त्री पम्फा भुसालसँग मन्त्रालयमा भेट गरी सार्दिखोलामा विद्युत विस्तार गर्न माग गरेका थिए ।
सार्दिखोलामा श्री घले वडाध्यक्षको उम्मेदवार हुनुहुन्छ भने खुला सदस्यहरुमा पुष्पराज गौतम, विक्रम नेपाली, दलित महिला सदस्य शर्मिला विक र खुला महिला सदस्य पूर्णिमा तामाङ हुनुहुन्छ ।