पोखरामा २४ हजार मत गणना बाँकी,धनराजलाई ३८५३ मतको अग्रता, उपप्रमुखमा मञ्जु अगाडि

हिमाली आवाज । स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत पोखरा महानगरपालिकाको जारी मतगणनामा सत्ता गठबन्धनबाट प्रमुखका साझा उम्मेदवार नेकपा(एकीकृत समाजवादी)का धनराज आचार्यले आफ्नो अग्रतालाई फराकिलो बनाउनुभएको छ । मत गणना अन्तिम चरणमा पुग्दै गर्दा आचार्यले मतान्तरले बढाउँदै लगेपछि उहाँ जित नजिक हुनुहुन्छ ।

वैशाख ३० गतेको निर्वाचनमा पोखरामा एक लाख ४३ हजार २२६ मत खसेकामा सोमबार विहानसम्म एक लाख १९ हजार ३१९ मत गणना हुँदा आचार्यले ४७ हजार ९९२ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा(एमाले)का कृष्णबहादुर थापाको ४४ हजार १३९ मत सहित आचार्यलाई पछ्याइरहनुभएको छ । पोखरामा अब २३ हजार ९०० मत गणना बाँकी छ ।

मतगणनाको सुरुआतदेखीनै अग्रता बनाउनुभएका आचार्यले मतगणना अन्तिम चरणमा पुग्दासम्म आफ्नो अग्रता कायमै राख्न सफल हुनभयो ।यसैगरी महानगरको उपप्रमुखमा भने नेकपा(एमाले)का उम्मेदवार मञ्जुदेवी गुरुङको अग्रता छ । गुरुङले ५० हजार २६० मत प्राप्त गरी अग्रता बनाउँदा उहाँका निकटतम प्रत्याशी गठबन्धनका साझा उम्मेदवार नेपाली काँग्रेसका कोपिला रानाभाटको ४७ हजार ४७० मत ल्याउनुभयो । मतगणनाको सुरुआतमा अग्रता बनाएपनि रानाभाट अन्तिम चरणमा पछि पर्नुभएको हो ।

अहिले वडा नं १७, १८, १९, २१, २२, ३०, ३१, ३२ र ३३ नं वडाको मतगणना जारी छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार सोमबार रातिसम्म पोखराको सबै वडाको मत परिणाम सार्वजनिक हुने जनाएको छ ।

Comments
Loading...