पोखरा महानगरले निजी होटल र बैँकका शौचालयलाई सार्वजनिक प्रयोगमा ल्याउँदै

हिमाली आवाज । पोखरा महानगरपालिकाले बैँङ्क, वित्तिय संस्था, होटल तथा रेष्टुरेण्टका शौचालयहरुलाई सर्वसाधारणको निःशुल्क प्रयोगका लागि उपयोगमा ल्याउने भएको छ ।

देशकै पर्यटकीय शहर पोखराको मुख्य शहरी क्षेत्रमा अत्यावश्यक सार्वजनिक शौचालय नहुँदा सर्वसाधारणले सास्ती पाइरहेको अवस्थामा महानगरले निजी शौचालयलाई समेत सार्वजनिक प्रयोगमा ल्याउने तयारी गरेको हो ।

महानगरले सार्वजनिक सूचना जारी गरी बढीमा एक वर्षका लागि सर्वसाधारणलाई शौचालय उपयोग गर्न दिन इच्छुक व्यक्ति तथा संस्थालाई साउन मसान्तभित्रमा महानगरमा निवेदन दिन आग्रह गरेको छ । निवेदन प्राप्त भएपछि सो सम्बन्धमा दुई पक्षिय सम्झौता गरिने महानगर प्रमुख धनराज आचार्यले जानकारी दिनुभयो ।

उहाँका अनुसार सार्वजनिक रुपमा निःशुल्क उपयोग गर्न दिए बापत त्यस्ता व्यक्ति वा संस्थालाई महानगरबाट उपलब्ध हुने सेवा सुविधामा प्राथमिकता दिने गरी नीतिगत व्यवस्था महानगरले गरेको छ ।

शहरका मुख्य र व्यस्त सडकमा अवस्थित व्यक्तिका निजी घर, बैँङ्क वित्तिय संस्था, होटल, रेष्टुरेण्ट लगायतका व्यावसायिक, गैर व्यावसायिक वा पेशागत संस्था र कम्पनीले आफ्नो स्वामित्वमा रहेका शौचालय सर्वसाधारणहरुलाई प्रयोग गर्न दिनका लागि इच्छुकहरुसँग सूचना आह्वान गरिएको महानगरका प्रमुख प्रशासकीय अधिकृत बलराम रिज्यालले बताउनुभयो ।

उहाँले भन्नुभयो,“ महानगरले शौचालय प्रयोग गर्न दिन मञ्जुर व्यक्ति वा संस्थालाई साउन मसान्त सम्म निवेदन दिन भनेको छ, त्यस्ता शौचालयमा आवश्यक पर्ने सफाइ एवम स्यानिटरी सामाग्रीमा महानगरले लागत सहभागिता जनाउने छ ।”

सार्वजनिक शौचालयका बारेमा सर्वसाधारणको जानकारीका लागि यस्ता स्थानमा विशेष पहिचानयुक्त लोगोे वा सङ्केत राख्ने गरी कार्यपालिका बैठकबाट निर्णय भएको छ ।

शौचालय प्रयोग गर्न दिने व्यक्ति, संस्था वा कम्पनीको विवरण महानगरको वेवसाइटमा राखिने बताइन्छ । पोखराका मुख्य शहरी क्षेत्रमा सार्वजनिक शौचालय नहँुदा सर्वसाधारणलाई असहजता हुँदै आएको छ ।महानगरले सार्वजनिक शौचालय निर्माणका लागि जग्गा नभएकाले काम अघि नबढेको जनाएको छ ।

Comments
Loading...