हिमाली आवाज । पोखरामा यस वर्ष पनि तायाःमचा नृत्य प्रतियोगिता हुने भएको छ । नेवाः खल कास्कीको आह्वान तथा मोहरिया–सिंहनाथ टोल तायाःमचा समिति पोखराको आयोजनामा यही भदौ ४ गते शनिबार पोखराको प्रसिद्ध विन्ध्यबासिनी मन्दिर प्राङ्गणमा रहेको विन्ध्यबासिनी पार्कमा प्रतियोगिता हुने आयोजकले जनाएको छ ।
लोपोन्मुख तायाःमचा नाचको संरक्षण गर्दै नेवारी परम्परा र संस्कृति बचाउने उद्देश्यले तायाःमचा नृत्य प्रतियोगिता आयोजना गर्न लागेको बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
प्रतियोगितामा २३ समूहले भाग लिने आयोजक मोहरिया–सिंहनाथ टोल तायाःमचा समितिका अध्यक्ष शिवप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । प्रतियोगितामा २३ समूहमध्ये ५ महिला नृत्य समूहलेपनि सहभागिता जनाउने बताइन्छ ।
लोपोन्मुख संस्कृति र परम्परा जोगाउँदै नया पुस्तालाई तायाःमचा नृत्यप्रति आकर्षित गराउन प्रतियोगिता आयोजना गरिदै आएको नेवा खलः कास्कीका अध्यक्ष अशोक पालिखेले बताउनुभयो । उहाँका अनुसार २०५४ सालबाट शुरु भएको तायःमचा नृत्य प्रतियोगिता यसपटक २४ औं पटक हुन लागेको हो । पालिखेले ८ वटा समूहबाट शुरु भएको प्रतियोगितामा अहिले सहभागिता बढेपनि पछिल्ला वर्षहरुको तुलनामा केहि समूह घटेको बताउनुभयो ।
प्रतियोगिताको बिजेतालाई ३५ हजार, उपबिजेतालाई २५ हजार, तेश्रो हुनेलाई १५ हजार र सान्त्वना हुने एक समूहलाई ५ हजारसहित प्रमाणपत्र प्रदान गरिने आयोजक मोहरिया–सिंहनाथ टोल तायाःमचा समितिका अध्यक्ष श्रेष्ठले बताउनुभयो । त्यस्तै, उत्कृष्ट महिला समूहलाई ११ हजार, उत्कृष्ट वाद्यवादन समूहलाई ५ हजार तथा उत्कृष्ट जोकरलाई २ हजार ५ सय प्रदान गरिने छ ।
प्रतियोगिता सम्पन्न गर्न करीब १५ लाख लाग्ने आयोजकले जनाएको छ । प्रतियोगिता सञ्चालन खर्च प्रायोजक तथा सहयोगी संघसंस्थाबाट संकलन गरिने आयोजक मोहरिया–सिंहनाथ टोल तायाःमचा समितिका सचिव विमल श्रेष्ठले बताउनुभयो ।


