पुरानो टुँडिखेल मैदान संरक्षणमा एकतावद्ध प्रयास आवश्यक :मन्त्री बराल

हिमाली आवाज । गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल(जीवन) ले पोखरा महानगरपालिका वडा नम्बर १ को ऐतिहासिक स्थलहरुको संरक्षणमा सबै एक हुनुपर्ने बताउनु भएको छ ।

इन्द्रेणी एकीकृत विकास समाजको आयोजनामा शुक्रबार देखि पोखराको पुरानो टुडिखेलमा सुरु भएको ऐतिहासिक तिज मेलाको उद्घाटन गर्दै मन्त्री बरालले सो कुरा बताउनुभएको हो ।

राष्ट्रिय मावि, टुडिखेल खेला मैदानदेखि महत्वपूर्ण सार्वजनिक जमिनहरुको संरक्षणको लागि एकिकृत प्रयास आवश्यक भएको मन्त्री बरालको भनाई छ ।
वडा कार्यालय र समाजले पोखरा– १ का ऐतिहासिक बस्तुहरुको संरक्षणमा लागेमा आफ्नो तर्फबाट पूर्ण सहयोग रहने उहाँले प्रतिवद्धता जनाउनुभयो ।

गण्डकी प्रदेश सभाका अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले हरितालिका तिज पर्वमा आयोजना हुने यस्ता मेला महोत्सवले नेपाली उत्पादन र नेपालीपन झल्कनी बिषय बस्तुहरुको प्रबद्र्धन भएको बताउनुभयो ।

समाजका अध्यक्ष भानु अधिकारीको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन सत्रमा पोखरा १ का वडा सदस्य शोभा गुरुङ, राष्ट्रिय माविका प्राचार्य कृष्ण उदासी, मेलाकी आमा समुह समन्वय समितिका संयोजक राधादेवि पराजुली, संस्थापक अध्यक्ष राजेन्द्ररमण पराजुली, उपाध्यक्ष निरज विक्रम राणा, महासचिब वसन्त बाँस्तोला लगायतले भनाई राख्नुभयो ।

यही भदौ १६ गतेसम्म चल्ने मेलामा विभिन्न व्यापारीक स्टल, मौलिक तिज गित प्रतियोगिता, लोक नृत्य प्रतियोगिता, खुल्ला तिज गृहिणी नृत्य प्रतियोगिता, छेलो प्रतियोगिता लगायतका कार्यक्रमहरु हुने भएको प्रचार संयोजक रोहितराज पराजुलीले बताउनु भयो । उद्घाटन सत्रको पूर्व सन्धयामा पोखरामा झाँकी सहितको प्रभात फेरी निकालिएको थियो ।

प्रभात फेरीमा ज्ञानुबाबा मावि झाँकी तर्फ उत्कृष्ट घोषित भएको छ भने भेषभुषामा क्षेत्री समाज महिला इकाई पोखरा एक उत्कृष्ट र अनुशासितमा नेवाःमिस पुचःपोखरा १ घोषित भएको समाजले जनाएको छ । मेलामा भोलि(शनिबार) कृष्ण अकेली, अम्मर धिताल, सुनिता नेपाली, निसा पोखरेल लगायतका कलाकारको प्रस्तुती रहने कलाकार कृष्ण गौतमले जानकारी दिनुभयो ।

Comments
Loading...