पोखराको दीपमा नालामा खसेर बालकको मृत्यु

हिमाली आवाज । पोखरामा सडक नालामा खसेर एक बालकको मृत्यु भएको छ ।

पोखरा महानगरपालिका–१६ दीपस्थित सुन्दरफिडमा गएराति अविरल वर्षा भइरहेको समयमा सडकबाट चिप्लिएर नालामा खस्दा पोखरा–१९ काउरे निवासी ४० वर्षीय राजु तिवारीका छोरा ११ वर्षीय रविनको मृत्यु भएको कास्की प्रहरीले जनाएको छ ।

आमासँग राति ८ः०० बजेतिर आफन्तकोमा तीजको दर खाएर पैदल घरतर्फ फर्किदै गर्दा अविरल वर्षापछि नालाको पानी भरिएर सडकमै आएको अवस्थामा बालक एक्कासी चिप्लिएर नालामा खसेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले बताउनुभयो ।

उहाँका अनुसार नालामा खसेपछि जनपथ, सशस्त्र प्रहरी र स्थानीयबाट खोजी गरेर एक घण्टापछि मणिपाल शिक्षण अस्पतालमा लगिएकामा चिकित्सकले मृत घोषणा गरेका थिए ।

पोखरामा गएरातिदेखी अहिलेसम्म पनि निरन्तर ठूलो वर्षा भइरहेको छ । वर्षाका कारण नेपाली नारीहरुको महान् पर्व हरितालिका तीजका अवसरमा आयोजना गरिएका विभिन्न सांस्कृतिक कार्यक्रम तथा तीज महोत्सवहरु प्रभावित बनेका छन् ।

Comments
Loading...