हेमजाको विकास आयल र मिनी मार्केट निजी साझेदारीमा सार्वजनिक शौचालय

हिमाली आवाज । पोखरा महानगरपालिका वडा न. २५ हेमजामा वडा कार्यालयको पहलमा मंगलबार निजी शौचालयलाई सार्वजनिक शौचालयको रूपमा प्रयोग गर्न सुरु गरिएको छ ।हेमजामा रहेको विकास आयल स्टोर र हेमजा मिनि मार्केटलाई सार्वजनिक शौचालयका रुपमा प्रयोग गर्न थालिएको हो ।

वडा अध्यक्ष मोतीलाल तिमिल्सिनाले महानगरको अबधारणा अनुसार निजी शौचालयलाई सार्वजनिक गरिएको बताउनुभयो । वडामा सार्वजनिक शौचालय नभएको अवस्थामा निजी क्षेत्र बाट सहयोग गरेकोमा धन्यवाद दिदै एक बर्ष भित्र प्रत्येक वडामा महानगरले सार्वजनिक शौचालय बनाउने उहाँले बताउनुभयो ।

विकास आयल स्टोरका सञ्चालक भोजराज पौडेलले निजी शौचालयलाई सार्वजनिक गर्ने काम राम्रो लागेको र महानगरको योजनामा आफूहरुले साथ दिएको बताउनुभयो ।

हेमजा मिनि मार्केटका सञ्चालक शिवलाल पौडेलले मार्केटमा भएको शौचालयलाई सार्वजनिक घोषणा गर्दै सेवा गर्न पाउँदा गर्व महसुस भएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा पुर्व वडा सदस्य दलबहादुर कुवँर र नेकपा एमाले पोखरा २५ हेमजाका अध्यक्ष ऋषिराम पौडेलले लगायतले भनाई राख्नुभयो । कार्यक्रममा लियो क्लब अफ हेमजा, सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा, विभिन्न राजनीति दल र विभिन्न संस्था प्रतिनिधिको उपस्थिति रहेको थियो ।

Comments
Loading...