–कृष्ण दवाडी
हिमाली आवाज । कास्की जिल्ला फेन्सिङ सङ्घका अध्यक्ष विजय शाहीले सोमबार राति सामाजिक सञ्जाल फेसबुकमा माछापुच्छ«े बैँकको क्युआरकोडको फोटो राखेर एउटा स्टाटस लेख्नुभयो ।
जसमा राष्ट्रिय खेलकुदका लागि प्रशिक्षण गरिरहेका खेलाडीहरुलाई खेल सामग्री किन्न अहिलेसम्म सरकारी निकायबाट पैसा नपाएकाले आर्थिक सहयोगका लागि याचना गरिएको थियो ।नवौै राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि फेन्सिङको खेलाडी छनोट गरेर प्रशिक्षण अहिले प्रशिक्षण सञ्चालन भइरहेको छ ।
शाहीले लेख्नुभएको छ,“नवौं राष्ट्रिय खेल सुरु हुन धेरै दिन बाँकी छैन, प्रदेश खेलकुद परिषद् र मन्त्रालयबाट खेल सामाग्रीको लागि पैसा आउला र भारतमा गएर खेल सामाग्री किनेर ल्याई प्रतिस्पर्धामा खेलाडीहरुलाई उतारौंला भनेर बस्ने हो भने हात लागे शुन्य होला जस्तो लागेर सामाजिक सञ्जालबाटै हात फैलाउन बाध्य भएँ ।”
शाहीले सामाजिक सञ्जालमा यस्तो भनाई राख्नुभएपछि त्यसमा तीव्र प्रतिक्रिया आइरहेको छ । धेरै खेलप्रेमीहरुले चिन्ता व्यक्त गरेका छन् । राष्ट्रको गौरवसँग जोडिएको प्रतियोगितामा खेलाडीहरुलाई आवश्यक सामग्री उपलव्ध हुनुपर्ने आवाज छ ।
शाहीको जस्तै पीडा अन्य धेरै खेल सङ्घ र यसका पदाधिकारीहरुको छ । प्रदेशस्तरीय छनोटबाट खेलाडी छनोट गरेर बसेका खेल सङ्घहरुले खेलाडीलाई आधारभुत सुविधा समेत उपलव्ध गराउन सकेका छैनन् ।
गण्डकी प्रदेशमा आयोजना हुने राष्ट्रिय खेलकुद प्रतियोगिता आउन एक महिना भन्दा कम समय बाँकी रहँदा समेत खेलाडीहरुका लागि आधारभुत सुविधा र खेल सामग्री प्राप्त नभएपछि सामाजिक सञ्जालबाटै पीडा व्यक्त गरेको अध्यक्ष शाहीले बताउनुभयो ।
उहाँले भन्नुभयो,“प्रतियोगितामा भाग नलिउँ खेलाडीहरुको बर्षौंको मिहिनेत खेर जाने, लिउँ न खेल सामाग्री छ, न खेल पोशाक ।”
प्रदेशका खेलाडीहरुको हितको लागि जिल्ला अध्यक्षको नाताले आफूले कतै भनसुन गरेर हुन्छ भने किन नगर्ने भन्ने सोचेर सामाजिक सञ्जालबाट सहयोगको अपिल गरेको उहाँले बताउनुभयो ।
“खेलप्रेमी व्यक्ति वा संस्था जो कसैले कास्की जिल्ला फेन्सिङ सङ्घको खातामा सहयोग गर्न सक्नुहुनेछ । हिसाब पारदर्शी हुने बाचा गर्दछु, गण्डकी प्रदेशकै ईज्जतको सवाल छ त्यसैले सबैमा बिनम्र अनुरोध गरें ।” शाहीले भन्नुभयो ।
फेन्सिङको खेल सामग्री नेपालमा पाइदैन । भारत वा चीनबाट ल्याउनुपर्ने हुन्छ तर अहिलेसम्म बजेटको उपलव्ध नभएको शाहीले गुनासो गर्नुभयो । सामाजिक सञ्जालमा अपिल गरेपछि सहयोग प्राप्त हुन थालेको छ । केही दिनमै शाही आफैँ खेल सामगी नेपाल ÷भारत सीमा रक्सौलसम्म जाने योजनामा हुनुहुन्छ । भारतीय कम्पनीसँग कुराकानी भइरहेको उहाँले जानकारी दिनुभयो ।
नवौैँमा खेल सामग्रीका लागि फेन्सिङ सङ्घले रु सात लाख बजेट माग गरेको छ । फेन्सिङका खेल सामग्री तरबार(सोड), इलेक्ट्रिक डिभाईस जडित ज्याकेट, पञ्जा, हेलमेट, चेस प्रोटेक्टर लगायतका सबै खेल सामग्री बाहिरबाट ल्याउनुपर्ने हुन्छ ।
एक जना खेलाडीका लागि रु ३० हजार बराबरको खेल सामग्री आवश्यक पर्दछ । तर परिषद्बाट एकमुष्ठ सबैलाई गरी रु ६० हजार मात्र उपलव्ध हुने जवाफ पाएपछि निरास बन्नुपरेको र सहयोगका हात फैलाउनुको विकल्प नभएको अध्यक्ष शाहीले गुनासो गर्नुभयो ।
उहाँले भन्नुभयो,“अभ्यासका लागि हल बाहेक अहिले हामीले सुविधाका नाममा केही पनि पाएका छैनौँ । खेलाडी खेल्दै गर्दा घाइते हुँदा समेत रङ्गशालाभित्र प्राथमिक उपचार नपाउने अवस्था छ, खेलाडीको सुविधा के हो अहिलेसम्म यकिन छैन भने आधारभुत सामग्री पनि पाइएन ।”
प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तेजबहादुर गुरुङले केही खेलका खेल सामग्री स्वदेशमा नपाइने र बाहिरबाट खरीद गर्नुपर्ने भएकाले यसमा सम्बन्धित खेल सङ्घहरुको पनि अग्रसरता आवश्यक हुने बताउनुहुन्छ ।
राष्ट्रिय खेलकुद जस्ता महत्वपूर्ण प्रतियोगिता आउदै छ भनेपछि सङ्घहरुले पनि यसमा विशेष चासो र जागरुकता देखाउनुपर्ने उहाँको भनाई छ । फेन्सिङका खेल सामग्री नपाएको बारेमा आफूहरुलाई जानकारी भएपनि स्वदेशमा नपाउने भएपछि तत्कालै उपलव्ध गराउन सम्भव नभएको गुरुङले बताउनुभयो ।
उहाँले भन्नुभयो,“कतिपय खेलको प्रकृति अलि जटिल हुन्छ, खेल सामग्री किन्न चाहेपनि नपाउने अवस्था छ । फेन्सिङमा पनि प्रदेशले लगानी गर्न नचाहेको होइन, दुई÷तीन लाख बजेट दिन तयार छौँ तर तत्कालै खेल सामग्री पाउन सम्भव छैन, खरीद प्रक्रिया एने अनुसार जानुपर्दा ढिलाई भएको हो । ”
परिषद्ले सुरुआतमा जिल्ला छनोट, खेल सामग्री र छनोट प्रतियोगिताका लागि भनेर खेल सङ्घहरुलाई रु एक करोड २० लाख बराबर बजेट उपलव्ध गराइएको सदस्य सचिवले बताउनुभयो ।

