हिमाली आवाज। काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थलमा धूमपान तथा सुर्तीजन्य पदार्थ सेवनलाई निषेध गरेको छ।
महानगरपालिकाको नगर सभाको ११औँ अधिवेशनबाट सार्वजनिक स्थलमा धूमपान गर्न निषेध गर्ने व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्ने नीति पारित गरेपछि आज असोज १ देखी कार्यान्वयनमा ल्याइएको हो ।सोही नीतिअनुरूप सार्वजनिक स्थलमा धूमपान तथा सुर्तीजन्य पदार्थ सेवनलाई निषेध गरिएको हो।
महानगरका सार्वजनिक स्थलमा चुरोट, बिँडी, तमाखु, सुल्फा, कक्कड, कच्चा सुर्ती, खैनी, गुट्खा वा यस्तै प्रकारका अन्य पदार्थ मुखमा राख्ने, त्यस्तो पदार्थको नशा लिने वा सेवन गर्ने कार्य पूर्ण रूपमा निषेध गरिएको छ।
महानगरको नियम उल्लंघन गरेमा सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन, २०६८ समेतका आधारमा कानुन उल्लंघन गर्ने व्यक्तिलाई सार्वजनिक स्थलबाट बाहिर निकाल्ने वा तोकिएबमोजिमको जरिवानासमेत हुने महानगरले यसअघि नै सार्वजनिक सूचना प्रकाशित गरेर सचेत गराइसकेको छ।

