नवौँ राष्ट्रिय खेलकुद :महिला बास्केटबल खेल तनहुँमा गर्न माग

हिमाली आवाज । गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतको महिला बास्केटबल खेल तनहुँ जिल्लामा गर्न जिल्लावासीले माग गरेका छन् ।

प्रतियोगिताको खेल तालिका प्रकाशन गर्दा तनहुँमा कुनै पनि खेल नपरेपछि उनीहरुले यस्तो माग गरेका हुन् । खेल मैदान व्यवस्थापन समिति तथा विभिन्न प्राविधिक टोलीले खेल स्थलको अवलोकन गर्दापनि तनहुँमा खेल नपरेकोमा उनीहरुको गुनासो छ । यस्तो गुनासो आएपछि सोमबार खेल मैदान व्यवस्थापन उपसमिति संयोजक तथा राष्ट्रिय खेलकुद परिषदका सदस्य समेत रहेका राजेशकुमार गुरुङ दमौली पुग्नुभयो । दमौली पुगेर गुरुङले गण्डकी प्रदेशका पूर्व मन्त्री हरिबहादुर चुमान, व्यास नगरपालिकाका मेयर बैकुण्ठ न्यौपाने सहितको उपस्थितिमा छलफल गर्नुभएको हो ।

छलफल मार्फत व्यास नगरपालिकामा रहेको निर्मल माध्यामिक विद्यालय प्राङ्गणमा भएको बास्केटबल कोर्टमा केही भौतिक पुर्वाधार थप गरि खेल सञ्चालन गर्न उपयुुक्त हुने निष्कर्ष निकालिएको छ । खेल मैदान व्यवस्थापनको लागि आवश्यक प्रवन्ध व्यास नगरपालिकाले मिलाउने मेयर न्यौपानेले प्रतिवद्दता जनाउनुभयो । ‘बास्केटबल खेल सञ्चालन गर्न आवश्यक पुर्वाधार व्यवस्थापन गर्न नगरपालिका तयार छ’ न्यौपानेले भने । नगरपालिका खेल सञ्चालन गर्न पहिल्यैदेखि तयार भएको र यो विषयमा नमिलेका कुरा केही नरहेको उहाँको दावी छ ।

उहाँले भन्नुभयो,“नमिलेको कुरा केही छैन, मिलेको छ, आज छलफल भयो अब प्रक्रिया अगाडि बढ्छ । स्टेटमेण्टबाट आउने खर्च गर्न नगरपालिका तयार भएको यसमा शंका गर्नू प्रदैन ।”

गण्डकी प्रदेशका पूर्व मन्त्री चुमानले प्रकाशित खेल तालिकामा तनहुँ नपरेपछि आफुलाई अचम्म लागेको बताउनुभयो । तनहुँले कम्तिमा एक खेल पाउनेमा आफुहरु विश्वस्त रहेको भएपनि खेल तालिका प्रकाशित हुदा तनहुँ नपर्दा दुःख लागेको उहाँको भनाई छ । अब महिला बास्केटबल जुनसुकै हालतमा तनहुँमा हुनुपर्नेमा उहाँको जोड थियो । ‘आवश्यक खर्च गर्न नगरपालिका तयार छ, यो ठूलो विषय हैन, आजबाट कुरा सोझिएको छ, आवश्यक सहयोग प्रदेश सरकार मार्फत म पनि भरथेक गर्छु’ चुमानले भन्नुभयो ।

खेल मैदान व्यवस्थापन उपसमिति संयोजक गुरुङले तनहुँले राखेको इच्छाको बारेमा राखेप सदस्य सचिवसँग कुरा गर्ने बताउनुभयो । ‘महिला बास्केटबल पृथ्वीनारायाण क्याम्पसमा हुने भनेर तालिका प्रकाशित भइसकेको छ, तनहुँले व्यवस्थापन गर्छ भने सदस्य सचिवसँग कुरा गर्छु, ठाउँमा कुरा पु¥याउछु’ उहाँले भन्नुभयो ।एक हप्ता भित्र बास्केटबलकोर्ट तयार भए खेल सञ्चालन गर्न सम्भव हुनसक्ने उहाँको भनाई छ ।

Comments
Loading...